तेह्रथुम/संविधान संशोधन गरेर भए पनि नेपाली जनताको आवश्यकताअनुसार कानून बनाउन सरकार लागिपरेको सङ्घीय संसद्का उपसभामुख शिवमाया तुम्बाहाम्फेले बताएकी छन् ।
जिल्ला समन्वय समिति तेह्रथुमले आयोजना गरेको दशैंको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले ऐन–कानून संशोधन गरेर भए पनि संविधान कार्यान्वयन गराउनका लागि नेपाल सरकार लागिपर्ने बताएकी छन् ।
उपसभामुख तुम्बाहाम्फेले नेपाली जनताको हक, अधिकारलाई सुनिश्चित गर्नका लागि जनताले जनप्रतिनिधिलाई सधैँ घच्घच्याउनु पर्ने बताइन् ।
मौलिक हकसँग जोडिएका १६ ओटा ऐन–कानून पारित भइसकेका छन् र अरु पनि कानून निर्माणको चरणमा रहेको उपसभामुख तुम्बाहाम्फेले बताइन् ।
जनताको हक अधिकारको लागि सङ्घ, प्रदेश र स्थानीय तहले कानून बनाइरहेको र कानून संविधासँग बाझियो भने अमान्य हुने उपसभामुख तुम्वाहाम्फेको भनाइ छ ।
दशैं, तिहार, छठजस्ता चाडपर्व सबै नेपालीले साझा पर्वका रूपमा सद्भावका साथ मनाउनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा सङ्घीय संसद्का सांसद् डा. विजय सुब्बाले दशैं, तिहार, छठ, लोसार, चासोकतङ्नामजस्ता चाडपर्व नेपालीका साझा चाडपर्व भएकाले सबै जातजातिले मनाउनु पर्ने बताए ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शिव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।