वराहक्षेत्र/वराहक्षेत्रको चतरास्थित चतरा जल विद्यतु केन्द्रको टरवाईन बिग्रिएर थन्किएको एकदशकमा मर्मतपछि पटक–पटक परीक्षण गरिए पनि सफल हुन सकेको छैन ।

परीक्षण सफल नहुँदा चतरावासी प्रत्यक्ष प्रभावित बन्दै आएका छन् ।

सम्बन्धित निकाय विद्युत प्राधीकरण तथा नेपाल सरकारले मर्मतमा ध्यान नदिँदा एकदशकदेखि विजुली उत्पादन ठप्प छ । वराहक्षेत्र–२ स्थित ८ आरडीमा ३ दशमलव २ मेगावाटको चतरा जल विद्युत केन्द्र रहेको छ ।

१६ करोडको लागत निर्मित केन्द्र २०५२ मा बन्न शुरू भई २०५६ मा प्राधीकरणलाई हस्तान्तरण गरेका थियो । एकदशमलव ६ मेगावाट क्षमताको दुई वटा युनिट रहेको केन्द्रमा युनिट २ नम्बर युनिट २०६७ भदौंमै बन्द भएको थियो । १ नम्बर युनिट पनि २०७१ को भदौंदेखि ठप्प छ । हाल दुवै युनिटबाट उत्पादन ठप्प छ ।

२०७४ पुस १५ गते एन्ड्रिज हाइड्रो कम्पनीका प्रतिनिधिले युनिट २ को परीक्षण गरेको थियो । ६० लाख रूपैयाँ खर्चेर इलेक्ट्रिकल प्यानलको पाटपुर्जा जडान गरे पनि परीक्षण असफल बनेको थियो ।

केन्द्र जर्मनीको सुजलर कम्पनीले निर्माण गरेको हो । प्राधीकरणले सन् २०१६ मे ३१ मा अष्ट्रियाको एन्ड्रिज हाइड्रोसँग स्पेयर पार्टस र सुपरभाइजिङको सम्झौता गरेको केन्द्रका प्रमुख बिनोद पाण्डे बताउँछन् ।

अहिले फेरि मेसिनको परीक्षण शुरू गरिएको छ । चार दिनअघि मात्रै युनिट २ को परीक्षण गर्दा मेकानिकल परीक्षण ठिकठाक रहेको छ भने ‘इक्लेट्रिकल, रियाविलिटि, लोड रिजेक्सन’ लगायतको परीक्षण बाँकी रहेको प्रमुख पाण्डेले बताए ।

परीक्षण सफल भए ४–५ दिनभित्र उत्पादन थालिने उनले जनाए । केन्द्रले दुई वटा फिडरबाट उपभोक्ता र ड्रेजर मेसिनलाई विद्युत दिँदै आएको थियो ।

उपभोक्तालाई ७ देखि ८ सय किलोवाट र ड्रेजरलाई ७ सय पचास किलोवाट विद्युत चाहिन्छ ।