विराटनगर/ स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गर्न जीवन विकास समाजका पदाधिकारी त्यसतर्फ प्रस्थान गरेका छन् ।
मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्टिूय पुरस्कार प्राप्त गरेको हो ।
जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भव्य समारोहबीच अक्टोबर १७ तारिखका दिन स्पेनकी महारानी र साउदी अरबका युवराजले जीवन विकासलाई पुरस्कृत गर्दैछन् ।
पुरस्कार ग्रहण गर्न समाजका अध्यक्ष योगेन्द्र मण्डलको नेतृत्वमा सह-कार्यकारी प्रमुख सञ्जयकुमार मण्डल, वरिष्ठ प्रबन्धकद्वय दामोदर रेग्मी र भरतलाल बहरदार, वरिष्ठ अधिकृत रमेश राय र बोर्ड सदस्य रिबोलदेवी मण्डल जेनेभा प्रस्थान गरेका हुन् ।
टोलीलाई एक औपचारिक कार्यक्रमबीच शुक्रबार विदाई गरिएको छ ।
पिछडिएका समुदायका बालबालिकाको लागि जीवन विकासले सामुदायिक विद्यालय, बालशिक्षा कार्यक्रम, सिटिइभिटी अन्तर्गत सीपमुलक तालिम, किशोरीहरुको विद्यालय छाड्ने दर घटाउन सरकारी विद्यालयमा नवविहानी कार्यक्रममार्फत सहयोग गर्दै आएको वरिष्ठ प्रबन्धक दामोदर रेग्मीले बताए ।
समाजको कामले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुगेकोले अन्तर्राष्टिूस्तरमै पुरस्कृत हुने अवसर पाएको बताइएको छ ।
समाजले विपन्न समुदायका लागि लघुवित्त र आठ जिल्लामा सामाजिक उन्नयनका कार्यक्रम संचालन गर्दै आएको छ । यसैबीच समाजले शुक्रबार नै एक कार्यक्रमबीच कटहरी प्रहरी कार्यालयलाई कम्प्युटर, प्रिन्टर तथा डिजिटल क्यामेरा सहयोग गरेको छ ।