विराटचाेक/ सलकपुर सामुदायिक वन उपभोक्ता समूहले गरिब विपन्न परिवारलाई शुक्रबार खाट वितरण गरेको छ ।
सुन्दरहरैचा नगरपालिका–८ स्थित वनले आफ्ना उपभोक्तामध्येबाट गरिब तथा विपन्नलाई खाट दिएको हो ।
वनले पहिलो चरणमा ५० जनालाई खाट दिएको वनका अध्यक्ष जनक खत्रीले जानकारी दिए । जनप्रतिनिधिले छनौट गरेको आधारमा ऐन तथा कार्यविधिमा टेकेर निवेदन आएकामध्ये ५० परिवारलाई खाट दिएको हो ।
दोस्रो चरणमा पनि ५० वटा खाट नै दिइने लक्ष्य रहेको अध्यक्ष खत्रीले जानकारी दिए । अहिले एउटा खाटको बजार मूल्य करिव ४ हजारको हाराहारीमा पर्छ ।
सुन्दरहरैचा–८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले विपन्न परिवारलाई खाट हस्तान्तरण गरे । उनले वडालाई हरियाली नगर बनाउनका लागि वृक्षरोपणको आवश्यकता रहेको बताए ।