धनकुटा/ धनकुटाको सिँधुवास्थित सुलभ बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभामा स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
१५ औं वार्षिक साधरणसभाको अवसर पारेर संस्थाले छथरजोरपाटी–४ सिधुवा बजारकी ७१ वर्षीय फूलमाया शेर्पा श्रेष्ठ र वर्ष ७३ का लालबहादुर विष्टलाई संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङले स्विटर लगाइदिए ।
दलित, जनजाति, जेहेन्दार तथा विपन्न विद्यार्थी तोर्णबहादुर नेपाली, रोज विक, सीता लिम्बू, सोमबहादुर मगरसहित ६ जनालाई विद्यालयमा लगाउने ड्रेस वितरण गरे ।
अध्यक्ष गुरुङले आव ०७४/७५ मा ६० करोड ९७ लाख ३६ हजार ९ सय ५८ रुपैयाँ बराबरको आय–व्यय प्रस्तुत गरे ।
उनले संस्थाको खुद नाफा आव ०७४/७५ मा ५६ लाख, ४९ हजार, ९ सय ७१ रुपयाँ, जगेडा कोषमा अघिल्लो वर्षसम्ममा ३४ लाख ७४ हजार २ सय ८१ रहेकोमा यो वर्ष १४ लाख १२ हजार ४ सय ९२ रुपैयाँ गरी जम्मा ५३ लाख ८ सय १३ रुपैयाँ पुगेको बताए ।
सो अवसरमा उनले संस्थाको शेयर सदस्य सङ्ख्या अघिल्लो वर्ष ६ सय ७३ बाट ७ सय ४५ जना पुगेकोमा महिला २ सय ८७ र पुरुष ४ सय ५८ जना रहेको बताए ।
सो अवसरमा संस्थाको तर्फबाट नियमित तथा उत्कृष्ट कारोबार गर्नेहरू छवीलाल विष्ट, धनकोटी श्रेष्ठ र कृष्णकुमार आलेलाई पुरस्कृत गरिएको थियो ।