[caption id="attachment_97320" align="alignnone" width="1000"] पानी परे पनि तेह्रथुमको म्याङ्लुङ बजारमा छाता ओढेर किनबेच गर्दै स्थानीय । तस्विरः ब्लाष्ट[/caption]

इटहरी/ दशैँको अवसरमा किनमेल गर्नेहरूको भिड बढेपछि इटहरीको फुटपात खुल्ला बजारका व्यापारीहरूको पनि यो वर्ष राम्रो कमाइ भएको छ ।

महँगीले गर्दा सस्तो खोज्दै दशैंमा गर्जो टार्नेहरूको भिड फेन्सी पसलमा भन्दा पनि फुटपातहरूको व्यापार बढ्दो छ ।

योसँगै इटहरीको आइतबार र बुधबार लाग्ने हटिया तथा तरहरा बजारमा लाग्ने सोमबार र बिहीबार लाग्ने बजारमा सर्वसाधरणको भिड लाग्ने गरेको छ ।

खुल्ला आकाशमुनिको यो बजार सस्तो सामान खोज्न आउने अधिकांश नेपालीहरूको रोजाइमा परेको छ । बजारमा केटाकेटीहरूका कपडा, डिजिटल घडी, लत्ता कपडाका पसलमा अन्य पसलभन्दा भिडभाड देखिन्छ ।

सामानमा जुत्ता, पेटी, झोला, सर्ट पाइन्टदेखि कुर्ता सलवारसम्मै पनि यहाँका पसलमा पाइन्छन् । मूल्यका हिसाबले ५० रुपैयाँदेखि हजार पन्ध्र सय रुपैयाँसम्मका सामान यो बजारमा पाइन्छन् ।

बिहीबार तरहरा बजारमा कपडा बेच्न आएका व्यापारी समीर बस्ेनतले भने । दैनिक कम्तिमा ५ हजारदेखि २० हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनको भनाइ छ ।

सस्तोमा पाइन्छ भनेर बजारमा उपभोक्ताहरूको भिड लागेको भए पनि बजारमा सामान महँगो भएको भन्दै कतिपय उपभोक्ताहरू मोलमोलाइमात्र गरेर फर्कने गरेको व्यापारीहरू बताउँछन् ।

तरहरा बजार गत वर्षको भन्दा महँगो भएको गुनासो उपभोक्ताहरूको पनि छ । इटहरी–१९ भवानीपुरबाट किनमेल गर्न आएका बाग्लुङका अशोक खड्काले सोचेको भन्दा महँगो भएकाले सिमित मात्रामा सामान किनेको सुनाए ।

खड्का मात्र होइन किनमेलमा छिर्ने सबै जसोले बजार महँगिएको गुनासो गर्दै आएका छन् ।

मिसन जोगबनी इटहरीबाट भारतको जोगबनी २८ किलोमिटर छ ।

जोगबनी बजार नजिक भएका कारण इटहरी आसपासका क्षेत्रका मानिसहरू खाद्यान्न, लत्ताकपडा लगायतका घरायसी सामग्री किन्न दैनिक त्यहाँ पुग्ने गरेका छन् ।

दशैं शुरु भएसँगै सीमापारीको बजार जोगबनी किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताका कारण भरिभराउ हुने गरेको छ ।

अन्य समयमा पनि निकै चहल पहल हुने जोगबनी बजारका मुख्य ग्राहक भने नेपाली उपभोक्ता हुने गरेका छन् ।

नेपाली बजारको तुलनामा भारतीय सीमावर्ती बजार जोगबनीमा विशेष गरी किनमेल गर्ने सबै वस्तुहरू त्यहाँ निकै सस्तो पाइन्छ ।

सस्तो मूल्यमा सामान पाइने भएकाले नेपाली उपभोक्ता समय खर्चेर निकै टाढाटाढाबाट समेत किनमेलका लागि जोगबनी पुग्ने गरेका छन् ।

सुनसरीको तरहराबाट समान खरिदका लागि जोगबनी बजार पुगेर आएकी रमिला विकले नेपाली बजारको तुलनामा निकै सस्तो मूल्यमा खाद्यन्न, लत्ताकपडा र घरायसी सामानहरू पाइने भएकाले आफूहरू जोगबनी बजारमा किनमेलका लागि जाने गरेको बताइन् ।

ठूला डिपार्टमेन्टमा  बढ्दो आर्कषण पछिल्ला समय पूर्वी नेपालका ठूला शहर विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायतका शहरमा खुलेका ठूला डिपार्टमेन्ट स्टोरमा नेपाली ग्राहकको मोह बढेको देखिन्छ ।

ठूला डिपार्टमेन्ट स्टोरले नेपाली उपभोक्तालाई सीमापारीको बजार जोगबनी र पानीट्याङ्की जानलाई केही हदसम्म भएपनि रोकेको छ । यहाँका डिपार्टमेन्टमा बिहानदेखि साँझ अबेरसम्म ग्राहकहरूको भिडले भरिन्छ ।

इटहरीमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा पनि उपभोक्ताको मोह कायमै छ । अहिले ठूलाठूला डिपार्टमेन्ट खुल्ने क्रम बढेसँगै सम्पन्न परिवारका व्यक्तिहरू ठूला डिपार्टमेन्टमा पुग्ने गरेका छन् ।

अहिले ठूला पसलहरूमा जाँदा ‘इज्जत बढ्छ’ भन्नेहरू, देखासिखीकै लागि पनि त्यहाँसम्म पुग्ने गरेका छन् ।