बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल प्रदेश नम्बर १ कै रेफर सेन्टर बन्ने क्रममा रहेको छ । यस प्रदेशमा रहेका अन्य अस्पतालको भरपर्दाे रेफर सेन्टर बन्ने क्रममा बिएण्डसी अस्पताल रहेको हो । ‘मोरङ, सुनसरी लगायतका जिल्लामा रहेको अस्पतालमा नभएको जटिल रोगको उपचार यस अस्पतालमा सम्भव भएको छ, कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने–‘स्थानीय मात्र होइन हामीसँग प्रतिष्पर्धा गर्न खोज्ने अस्पतालले पनि हाम्रो अस्पतालमा बिरामी रेफर गर्ने गरेका छन् ।’ उनले अस्पताल स्थापनासँगै अकालमा मृत्यु हुनबाट जोगाउन सकेकोमा गर्व लागेको बताए । जटिल रोगको उपचार गर्ने भएपछि बिएण्डसी अलि महङगो लाग्ने उनले बताए । ‘हामी बिरुद्ध एउटा समुह नै गलत प्रचारमा क्रियाशिल छ, प्रसाईले भने–‘तर, यहाँको उपचारमा भइरहेको वास्तविकता बुझिदिनुहुन अनुरोध गर्दछु ।’ अस्पतालमा बिश्वकै आधुनिक उपकरण भएकाले रोग पत्ता लगाउन सहज भएको प्रसाईले बताए । प्रसाईले उपचार नपाएका बिपन्न समुदायका बिरामीलाई निशुल्क उपचार गर्दै आएको बताउँदै कोही त्यस्तो बिरामी परेको भए जानकारी दिन आग्रह गरे । आधुनिक प्रयोगशाला अस्पतालको सबल पक्ष भएको भन्दै अस्पतालका अध्यक्ष इन्दिरा गिरीले बिएण्डसी प्रदेश नम्बर १२ को सबैभन्दा सुविधासम्पन्न अस्पताल बन्न सफल भएको दावी गरिन् । अस्पतालले एकबर्षको अवधिमा ९ वटा छिनेका हात खुट्टा जोड्न सफल भएको बताएको छ । अस्पतालले आगामी फागुन १८ गते दक्षिण एसियाकै नमुना क्यान्सर अस्पतालको समेत उद्घाटन गर्ने जनाएको छ । मेची अञ्चलका ३० लाख जनतालाई लक्षित गरी खोलिएको अस्पतालले अहिले नेपाल र भारतका बिरामीको समेत उपचार गरेर बिश्वास जित्न सफल भएको जनाएको छ । अस्पतालले असनोज ९ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा मात्र ११ हजार भन्दा बढीले सेृवा लिएको तथा ४ सय बढीले अपरेसन गराएको निर्देशक प्रसाईले जानकारी दिएका छन् । एक बर्षको अवधिमा आश्चर्यजनक र काठमाण्डौदेखि रेफर गरिएका बिरामीको समेत सफल उपचार गरेको भन्दै दक्षिण एसियामै सुविधासम्पन्न अस्पताल बन्नेतर्फ प्रयासरत रहेको अस्पतालले जनाएको छ । गरिब तथा बिपन्न परिवारका बिरामीहरुलाई निशुल्क उपचार गराइरहेको अस्पतालले आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने घोषणा गरेको छ । बिएण्डसीमा उपचार गर्दा धेरै रकम लाग्ने गरेको भन्ने आरोप गलत भएको अस्पताल श्रोतले जनाएको छ ।