उर्लाबारी/ नेपालीहरूको महान् पर्व विजयी दशमी, शुभ–दिपावली तथा छठ पर्वको अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा शनिबार शुभकामना आदान–प्रदान तथा शान्ति सुरक्षाका विषयमा छलफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद् घनश्याम खतिवडा तथा अतिथिहरू प्रदेशसभा सांसद् कुशल साँवा लिम्बू, उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो, उप–प्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गीलगायतले शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा अपनाउनुपर्ने सुरक्षाका विषयमा धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले चाडपर्वको समयमा उर्लाबारी र मिक्लाजुङका १५ स्थानमा विशेष प्रहरी परिचालन गर्दै सुरक्षा अवस्था सुदृढ बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।