इनरुवा / सुनसरीको इनरुवामा जारी प्रथम मेयरकप टी–२० रात्रिकालीन क्रिकेट प्रतियोगिताअन्र्तगत झापासँगको खेलमा वीरगञ्ज विजयी भएको छ ।
इनरुवा खेल मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापालाई ९१ रनले पराजित गरेको हो ।
टस जितेर झापाले बलिङ रोजेको थियो । पहिलो ब्याटिङमा उत्रिएको वीरगञ्जले आक्रामक शुरुवात गरेको थियो । वीरगञ्जका सुरज पटेलले ७६, सुभास यादवले ३४, रसिद खानको नटआउट २८ रनको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रन जोडेको थियो ।
१ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको मेची क्रिकेट क्लब झापाले शुरुवाती ओभरमा आक्रामक ब्याटिङ गरे पनि लगातार विकेट गुमाउन पुगेको थियो ।
एकपछि अर्को विकेट पतनसँगै दबावमा आएको झापा १८ दशमलव २ ओभरमा ९४ रनमा समेटिएको थियो । झापाका लागि प्रनिस बिरमालीले २७ र सन्दीप ढुङ्गानाले १६ रन जोड्नुबाहेक अन्यको प्रदर्शन जम्न सकेन ।
वीरगञ्जका अनुज चौहान एक्लैले ८ विकेट लिएका थिए । चौहान खेलको म्यान अफ दी म्याच भएका थिए ।
प्रतियोगिताअन्र्तगत शनिबार राति हुने नेपाल पुलिस क्लब काठमाडौं र वीरगञ्जबिचको खेलको विजेतालाई आइतबार हुने फाइनलमा विराटनगरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताए ।