इटहरी/ तरहरामा जारी सगरमाथा युवा क्लबद्वारा आयोजित प्रथम तरहरा गोल्डकपको उपाधि धरान फुटबल फ्यान क्लबले जितेको छ ।
शनिबार धरान फुटबल फ्यान क्लब र सुन्दरपुर फुटबल क्लबबीच भएको प्रतियोगितामा धरानका सुजन श्रेष्ठले दोस्रो हाफको २७ मिनेटमा गोल गरेका थिए ।
उनको त्यो गोल नै निर्णायक बन्यो । दुवै टिमबीचको रोचक प्रतिस्पर्धा भएको थियो ।
धरानले नगद ७५ हजार ५ सय २५ रुपैयाँ हात पा¥यो । उपविजेता सुन्दरपुरले ५५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको थियो ।
खेलको म्यान अफ दी म्याच, बेस्ट डिफेन्स र निर्णायक गोलको पुरस्कार धरानका सुजन श्रेष्ठले हात पारे । त्यस्तै, सगरमाथा युवा क्लबका खेलाडी सोयम तामाङ राइजिङ प्लेयर घोषित भए ।
बेस्ट प्लेयर अफ दी टुर्नामेन्ट धरानका रिवाज मास्के घोषित भए । त्यस्तै बेस्ट गोलकिपर धरानकै प्रकाश कार्की घोषित भएका थिए । उनीहरूले ट्रफी, प्रमाण–पत्र हात पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राई रहेका थिए । उनले राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि स्थानीयस्तरमा प्रतियोगिता सञ्चालन हुन आवश्यक रहेको औँल्याए ।
आगामी दिनमा पनि खेल क्षेत्रको लगाव र उत्थानका लागि युवाहरू लागि पर्नुपर्ने बताउँदै राईले खेल क्षेत्र देशकै चिनारी रहेको बताए ।
सगरमाथा युवा क्लबका उपाध्यक्ष मनोज तामाङको संयोजकत्वमा सम्पन्न उक्त खेल प्रतियोगिताका सभाध्यक्ष तथा सगरमाथा युवा क्लबका अध्यक्ष पदम तामाङले एक वर्षमात्रै नभई आगामी दिनमा यस ठाउँमा खेल क्षेत्रको आयोजना गर्दै जाने प्रतिबद्धता गरे ।