इनरुवा / पछिल्लो समय नेपालमा क्रिकेट प्रतिको मोह बढ्दो छ । नेपालको राष्ट्रिय क्रिकेट टिम होस या क्रिकेटरहरुको अन्तराष्ट्रिय स्तरमा आश लाग्दो प्रर्दशन । जसको छाप नेपाली समाजमा समेत देखा पर्न थालेको छ । गाउँ शहरमा क्रिकेट प्रतियोगिताहरु आयोजना हुने क्रम बढेको छ । यहाँ सम्मकी रात्रिकालीन क्रिकेटमा समेत दर्शकको उपस्थिती बाक्लिन थालेको छ ।
इनरुवा खेल मैदान धेरैकालागि नौलो नाम बन्न सक्छ । तर यतिबेला रात्रिकालीन क्रिकेट प्रतियोगिताका कारण सबैको ध्यान सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा केन्द्रीत बनेको छ । मुलुकमै पहिलो मानिएको रात्रिकालीन टि २० क्रिकेट इनरुवामा सुरु भएको । हुनत् यसअघि मुलुकका केही प्रमुख शहरहरुमा रात्रिकालिन क्रिकेट भैसकेका छन् । टेलिस बलबाट खेलिएको क्रिकेट खेललाई आधिकारीक नमानिने हुँदा ड्युज बलबाट सुनसरीको इनरुवामा खेलाइएको टि २० प्रतियोगिता नेपालकै लागि पहिलो भएको आयोजक फुलबारी क्रिकेट क्लब इनरुवाका अध्यक्ष शिबु यादवको दाबी छ ।
इनरुवा नगरपालिका मूख्य प्रायोजक रहेको प्रथम रात्रिकालीन मेयर कप टि २० क्रिकेट प्रतियोगिताको भब्य रुपमा भएको उद्घाटन समारोहमा दर्शक र सर्मथकको साथले समेत क्रिकेट प्रतिको मोहलाई दर्शाएको छ । इनरुवा नगर प्रमुख राजन मेहता, कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखका साथै वडाध्यक्षहरुले एकसाथ प्रतियोगिताको उद्घाटन गरेका थिए । आयोजक फुलबारी क्रिकेट क्लब इनरुवाले स्थानीय निकाय लगायतबाट आर्थिक रकम जुटाएर प्रतियोगिता संचालनमा ल्याएको हो ।
प्रतियोगितालाई लिएर निकै टिका टिप्पणी भएपनि खेल संचालन भएपछि भने खेल हेर्र्ने दर्शकको बाक्लो उपस्थिती देखिन थालेको छ । खेल र खेलाडी सहित दर्शकहरुको सुरक्षाकालागि बाक्लो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । वाईवाई काठमाण्डौं, धनगढी, बिराटनगर, बिर्तामोड, झापा, राजबिराज, बिरगञ्ज र नेपाल प्रहरी सहित दश टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र दोस्रो हुनेले ७५ हजार सहित ट्रफि पाउने छ ।
फाइनलमा आज राती विराटनगरसँगै भिड्दै
सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रीकालीन टि २० क्रिकेटको पछिल्लो खेलमा नेपाल पुलिस क्लब काठमाडौं बिजयी भएको छ । जितसँगै फाइनल पुगेको पुलिसले उपाधी भिडन्तमा आज राती हुने खेलमा बिराटनगरको सामना गर्नेछ । राती सम्पन्न खेलमा पुलिसले बिरगञ्जलाई ४९ रनले हराएको हो ।
टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १ सय ५९ रन जोडेको थियो । पुलिसकालागि सुनिल धमलाले ५२ रन बनाएका थिए । त्यसैगरी अमित श्रेष्ठले ३२ र सिद्धान्त लोहनीले २० तथा रामनरेश गिरीले नटआउट १८रनको पारी खेलेका थिए । सुरुवाती अवस्थामा निकै आक्रामक ब्याटिङ गरेको पुलिस उच्च रनतर्फ अग्रसर देखिएपनि पछिल्लो ओभरमा लगातार एकपछि अर्को विकेट गुमाउदा मध्यम योगफलमा रोकिएको थियो । बलिङ तर्फ बिरगञ्जकालागि पवन सराफले हयाट्रिक सहित ४ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको बिरगञ्ज भने १९ दशमलव २ ओभरमा १ सय १० रनमा समेटिएको थियो । पुलिसको बलिङ सामू दबाबमा ब्याटिङ गरेको बिरगञ्जका सैदुल्ला अन्सारीले २७, नसरुदिन अन्सारी २२ र रासिद खानले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।
बिराटनगर फाइनलमा
सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन टि२० क्रिकेट प्रतियोगिता अन्र्तगतको पछिल्लो खेलमा बिराटनगर बिजयी भएको छ । बेलबारी क्रिकेट क्लबलाई हराउँदै बिराटनगर फाइनलमा प्रवेश गरेको छ । बिराटनगरले बेलबारीलाई ६३ रनले पराजित गरेको हो । प्रतियोगितामा बुधबार रातीबाट ग्रुप बि का खेलहरु सुरु भएका छन् ।