इटहरी/बहुप्रतिक्षित जोगवनी–किमाथाङ्का सडक अन्तर्गत रानी–विराटनगर–इटहरी–धरानको सडक बनिनसक्दै भत्किन थालेको छ ।

सडकको दुईतर्फको ड्रेन निर्माणमा कमसल सामग्री प्रयोग गरेको भेटिएपछि स्थानीयले तत्काल रोक्न माग गरेका छन् । गुणस्तरहीन सामग्रीको प्रयोगले बनिनसक्दै भत्किन थालेको हो ।

निर्माणाधीन सडकको दुवैतर्फ बनेको नालामा कमसल सामग्रीको प्रयोग गरेको भेटिए पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

विराटनगरदेखि इटहरीसम्म दुवैपट्टि ढल निर्माण भइरहेको ठाउँमा तीन नम्बर इँटा प्रयोग गरेको पाइएको छ । एसिसी, एन स्टार र कस्टिल नामक इँटा प्रयोग गरेको छ ।

खनारका स्थानीय हेमन जैनले ६ लेन सडक निर्माणमा लापरबाही भएको बताए । निर्माणाधीन नालामा ३ नम्बर इँटा प्रयोग भइरहेको उनको भनाइ छ ।

‘खै यत्रो ठूलो सडक निर्माणमा लापरबाही हुँदा पनि किन ध्यान नदिएको होला, बुझ्नै सकिएन’ –उनी भन्छन् ।

आयोजनासँग एक नम्बर इँटा प्रयोग गर्ने भन्ने सम्झौता थियो भन्दै गुणस्तर कायम गर्न पटक–पटक खबरदारी गरिरहेको स्थानीय सन्तोष यादवले बताए । ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीय सचिन नेपालले बताए ।

गुणस्तरहीन भएको जनगुनासो आए पनि कुनै निकायले चासो नदेखाएको भन्दै निर्माणको काम नसच्याए स्थानीयले रोक्ने उनले बताए । हाल निर्माणाधीन नालामा सिमेन्ट बिनाकै बालुवा टाँस्ने मात्र काम भइरहेको छ ।

खनारमा काम गर्दै भेटिएका स्थानीय पेटी ठेकेदार नन्दकुमार यादवले आफूहरूले राम्रै काम गर्दै आएको बताए । यादवले मापदण्डअनुसार नै काम भइरहेको बताए ।

यता ठेकेदारको जिम्मा पाएका भूमि कन्स्ट्रक्सनका सुपरभाइजर ईश्वरी रोक्काले आपूmहरूले निगरानी बढाइरहेको बताउँदै तीन नम्बर इँटा प्रयोग गरेको भेटेपछि आफूहरूले कडाइ गरेको उनको भनाइ थियो ।

बालुवा र सिमेन्टको प्रयोग राम्रै भएको उनको दाबी छ । यता ६ लेन सडक निर्माण आयोजना कार्यालयका प्रमुख विनोद पौद्दारले भने गुणस्तरहीन काम भएको भए कडा कारबाही गर्ने बताए ।

एक नम्बर इँटा लगाउनु पर्ने ठेकेदारसँग सम्झौता भएको बताउँदैै प्रमुख पौद्दारले भने, ‘सम्झौताअनुसार काम नभए हामी भत्काएर बिल भरपाइसमेत रोक्का गर्नेछौं ।’

नाला निर्माणमा लापरबाही गरेको आरोपमा विराटनगरमा गत जेठ २९ गते निर्माण कम्पनीका साइड मेनेजरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

६ लेनको व्यापारिक मार्गको नाला निर्माणमा सिमेन्ट प्रयोग नगरी बालुवा र इँटामात्र राखेको भेटिएपछि निर्माण कम्पनीका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित तीन जनालाई पक्राउ गरेको थियो ।

१० अर्ब ९८ करोडको लागतमा निर्माणाधीन ६ लेन सडकको पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किलोमिटर ६ सय मिटरमा र अहिले थप इटहरीदेखि तरहरासम्म निर्माण भइरहेको छ ।