विराटनगर/दिउँसै सार्पसुटरबाट सुनसरी हरिनगर –२ भुटाहा बजारमा गोली हानी हत्या गरिएका खुर्सिद आलम अन्सारीको हत्या प्रकरणको छानविन प्रतिवेदन ढिलो गरी बुझाउने भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी किशोर दाहालको नेतृत्वमा गठन भएको छानविन समितले गृह मन्त्रालयलाई दशैंपछि मात्र प्रतिवदेन बुझाउने तयारी गरेको हो ।
गत असोज ४ गते खुर्सिदको हत्या भएपछि हत्या अनुसन्धानका लागि असोज ५ गते एसएपी दाहालको नेतृत्वमा समिति गठन गरेको थियो ।
१५ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने समयसीमासहित गठन भएको समितिले समयसीमा पूरा भएको ५ दिनपछि पनि प्रतिवेदन बुझाएको छैन ।
छानबिन समितिले फिल्डको काम सकेर प्रतिवेदन तयार पार्ने काम गरिरहेको समितिका संयोजक एसएपी दाहालले बताए । प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने भएकाले अहिले नै केही बोल्न नमिल्ने बताए ।
‘दशैंपछि छानबिन प्रतिवेदन गृहमा बुझाउँछौं’ उनले भने, ‘त्यसपछि मात्र सबै कुरा बाहिर आउनेछ ।’
छानबिनको लागि १५ दिन समय खर्चिएको टोलीले हत्याको कारण भने पत्ता लगाउन नसकेको छानविन समितिका एक अधिकारीले बताए । ‘हरेक कोणबाट छानविन गरियो, अहिलेसम्म केही खुलेको छैन’ –नाम नबताउने सर्तमा ती अधिकारीले भने ।
खुर्सिद हत्या प्रकरणको छानविनका क्रममा टोलीले आफन्त छरछिमेक, प्रहरीसहित स्थानीयबासीसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको बताइएको छ ।
सीमावर्ती क्षेत्रमा प्रहरीको सञ्चार सेटलेसमेत काम गर्न नसक्ने देखिएको बताइएको छ । सीमावर्ती क्षेत्रमा नेपाल टेलिकमको टावर टिप्दैन । प्रहरीको सञ्चार सेटले पनि बेला बेला सिग्नल टिप्दैन ।
घुस्की आसपास सीमावर्ती क्षेत्रमा एनसेलको मात्र टावर हुने गरेको छ । अनुसन्धान टोलीले प्रहरीको आन्तरिक समन्वय पनि अभाव रहेको भेटेको बतायो ।
गत असोज ४ गते बिहीबार बिहान ११ः३० बजे खुर्सिदलाई गोली हानी चारजना हतियारधारी घुस्की नाका हुँदै सहजै भारत प्रवेश गरेका थिए । प्रहरीको समन्वय अभावका कारण करिब ९ किलोमिटर दक्षिणमा पर्ने घुस्की बोर्डर पार गर्दै हतियारधारी भागेका थिए ।
खुर्सिदलाई सरकारले शहीद घोषणा गरेको छ भने उनको परिवारलाई १० लाख क्षतिपूर्ति पनि दिएको छ ।
असोज १४ गते खुर्सिदका आफन्तलाई भेट्न आएका गृहमन्त्री रामबहादुर थापा बादलले १० लाखको चेक र शहीद घोषणाको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।
आफन्तलाई भेट्न आएका बेला थापाले अपराधीलाई सात समुद्रपारिबाट भए पनि पक्राउ गरी ल्याउने आश्वासन दिएका थिए ।