धरान / धरानमा लागेको दशैं रमाइलो मेला रोक्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदेश दिएका छन् ।
सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीलाई बुधबार बिहान टेलिफोन गरेर मेला तत्काल रोक्न आदेश दिएका हुन् । ‘मुख्यमन्त्रीज्यूले मेला रोक्न आदेश गरिसक्नु भएको छ,’ प्रजिअ उप्रेतीले फोन सम्पर्कमा भने,–‘बिहानै तपाईले कस्को आदेशमा मेला लगाउनु दिनुभएको हो भनेर प्रश्न गर्नुभयो । तत्काल रोक्नुस् भन्नुभएको छ । हामीले हिजै (मंगलबार) नै रोकेका छौं ।’
सोमबारदेखि शुरू भएको मेला मङ्गलबारकै दिन मेलाका विपक्षी युवाहरू र पक्षधर युवाहरूबीच झडप भएको थियो । झडपपछि प्रहरीले ५ सेल अश्रुग्यास प्रहार गरेको थियो । घटनालगत्तै धरान प्रहरीलाई निर्देशन दिँदै मेला रोक्न प्रजिअ उप्रेतीले निर्देशन दिएका छन् । ‘मैले घटनालगत्तै मेला रोक्न प्रहरीलाई निर्देशन दिइसकेको छु ।’ उप्रेतीले भने ।
यता मुख्यमन्त्री रार्इले भने मेलामा झडपकाे स्थिति सिर्जना भएपछि के भएकाे हाे भनेर अाफूले सिडिअाेसँग चासाे राखेकाे जानकारी दिए । ‘मैले के भएको हो भनेर चासो राखेको हो । सिडिओले हिजै बन्द गरिसकेको छु भनेर जानकारी गराउनुभएको छ ।’ उनले भने ।तीन वर्षयता धरानमा रमाइलो मेला स्थगन भएको थियो । मेलाका कारण हरेक वर्ष गुण्डागर्दी तथा झैं–झगडा हुने कारण पनि प्रशासनले नै रोक्दै आएको थियो । तर यो वर्ष धरान उपमहानगरको कार्यपालिका बैठकले असोज २५ गते मेला लगाउन दिने निर्णय गरेको थियो । सोही निर्णयपछि विभिन्न राजनीतिक दलहरूले मेलाको तीव्र विरोध गर्दै आएका थिए । सोही क्रममा मङ्गलबार सङ्घीय समाजवादी फोरम नेपालसम्मिलित ६ दलले विरोध ¥याली निकालेका थिए ।
सोही विरोध ¥यालीपछि विरोधी पक्षधर युवाहरूले धरान–१२ चतरालाइनमा निर्माण गरिएको मुख्य प्रवेशद्वार तोडफोड गरेका थिए । तोडफोडपछि नै आयोजक पक्ष छिमेकी युवा समूहका युवाहरूले ढुङ्गामुढा र हतियार प्रयोग गरेको विपक्षीको आरोप छ । सोही क्रममा दुई जना घाइतेसमेत बनेका थिए ।
मेला लगाउन स्वीकृति प्रदान गर्नुपूर्व धरान उपमहानगरको कार्यपालिका बोर्डले सुरक्षा निकायसँग समन्वय नै नगरी निर्णय गरेको थियो । धरानको मेलामा सुरक्षा दिन नसक्ने जिल्ला प्रशासनले बताउँदै आएको छ । ‘समन्वय छदै छैन ।’ प्रजिअ उप्रेतीले भने । यसविषयमा जिल्ला सुरक्षा समन्वय समितिमा पनि कुनै छलफल भएको छैन । मेला लगाउनुपूर्व सुरक्षाको प्रत्याभूति दिन सकिन्छ कि सकिदैन त्यो हिसावले अनुमति प्रदान गर्ने सुनसरी जिल्लाका एसपी राजन अधिकारीले जानकारी दिए ।
‘जिल्ला प्रशासनले पनि हचुवाको भरमा सुरक्षा दिने कुरो हुँदैन ।’ एसपी अधिकारीले भने,–‘विगतमा भएका सुरक्षा चुनौतीको आधारमा अनुमति दिइन्छ ।’ मेलाका लागि आम नागरिकको सुरक्षार्थ खटिएका जनशक्तिलई कटौति गरेर मेलाका लागि बेग्लै सुरक्षा दिनुपर्ने उनले बताए । जसले गर्दा अन्यत्र सुरक्षा खतरा बढ्ने उनले बताए । ‘अतिरिक्त जनशक्ति प्रयोग गर्नुपर्ने हुन्छ । त्यसले अन्यत्र सुरक्षा खतरा बढ्छ ।’ एसपी अधिकारीले थपे ।
रमाइलो मेलाकै कारण धरानमा नियमित प्रहरी बाहेक ७० जना थप सुरक्षा जनशक्ति बढाइएको छ । जसमा पूर्व क्षेत्रीय प्रहरी दङ्गा नियन्त्रण गणबाट ५० जना र सङ्घीय इकाइ प्रहरी कार्यालयबाट २० जनाको टोली तैनाथ छन् । धरानमा इलाका प्रहरी कार्यालय मातहतमा १४१ जना प्रहरीहरू परिचालित रहेको इप्रका धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार मङ्गलबारको झडप भएपछि जिल्ला प्रहरी कार्यालयबाट २० जना, र इलाका प्रहरी कार्यालय इटहरीबाट ३० जना जनशक्ति माग गरिएको थियो ।
‘सिडिओ सा’पबाट मेला रोक्न निर्देशन आएकाले ताला लगाइसकेका छौं ।’ डिएसपी तिम्सिनाले भने,–‘तीनवटै गेटमा ताला लागेको छ । माथिल्लो गेट प्रहरीको निगरानीमा छ ।’ मेलाका कारण दैनिक ‘पुलिसिङ’ मा गम्भीर असर पुगेको उनले बताए ।