रासस/ अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किँदा बम बनाउने व्यक्तिकै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ ।

उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम बनाउँदा बनाउँदै अकस्मात पड्किन पुगेको बताइएको छ । फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएको समाचारमा जनाइएको छ । तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा पड्किन पुग्दा आफ्नै परिवारका सदस्य गुमाएको प्रहरीले पुष्टि गरेको छ ।

फर्याब प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरासले बुधबार सो जानकारी दिएका छन् । बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन रहेको बताइएको छ ।

उनले आफ्नै घरमा बम बनाइरहेका थिए । बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका भएको पनि समाचारमा जनाइएको छ ।

तालिबानहरूले फर्याब प्रान्तको केही भाग नियन्त्रणमा लिएर बसेका र बारम्बार आत्मघाती बमहरू हानी सर्वसाधारण नागरिकको ज्यान लिने गरेको बताइन्छ ।

उनीहरूले सडकको किनारमा बम राखेर सर्वसाधारण नागरिक र सवारीमा यात्रा गर्ने व्यक्तिको ज्यान लिने गर्दछन् । मुल्लाहले यो बम पनि यसरी नै प्रयोग गर्नका लागि बनाएको अनुमान प्रहरीको छ ।