[caption id="attachment_98249" align="alignnone" width="1200"]
बरामद पटाकासहित तीन भारतीय नागरिकलार्इ सार्वजनिक गर्दै धरान प्रहरी । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
धरान / तिहारलाई लक्षित गर्दै भारतीय नागरिकले धरानबाट पहाडी क्षेत्रमा बिक्रीका लागि धरानमा ‘स्टोरेज’ गरेको भारी परिणाममा पटाका बरामद गरेको छ ।
धरान प्रहरीले विशेष सूचनाको आधारमा धरान–१० धर्मपथको मौसम सुनुवारको घरमा भाडा लिई बस्ने तीन भारतीय नागरिकले गोदाम गरेको अवस्थामा २१ बोरा पटाका बरामद गरेको हो । पटाकासहित भारतीय नागरिकलाईसमेत पक्राउ गरेको छ ।
उनीहरूले तीन दिनअघि सुनसरीको सीमा नाका भण्टाबारीबाट केरा ल्याउने गाडीमा भित्र्याएको खुलेको इलाका प्रहरी कार्यालय धरानका मुद्दा फाँटका इनिस्पेक्टर अशोक जवेगूले जानकारी दिए । पक्राउ पर्नेमा भारतीय नागरिक भारत विहारका पाण्डव दास भनिने राजकुमार दास, अर्बिन देव र दिलिप दास रहेको इनिस्पेक्टर जवेगूले बताए ।
उनीहरूले धरानमा स्टोक गरेर पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायतमा बिक्री गर्ने तयारी गरिरहेका थिए । धरानमा बिहीबार रातिको बिहान उनीहरूले भित्र्याउँदै स्टक गरेका थिए । एक साताअघि मात्रै उनीहरूले कोठा भाडामा लिएका थिए ।
नेपालमा तिहारका बेला आतिसबाजी गर्ने प्रचलन भएका कारण पनि पटाकाको व्यापार बढ्ने गरेको छ । त्यसको फाइदा उठाउँदै भारतीय नागरिकले सहज रूपमा भाडामा लिएर कारोबार गर्ने गरेको पक्राउ पछि खुलेको छ ।
उनीहरूलाई जिल्ला चलान गर्न लागिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनीहरूलाई आतिसबाजीसम्बन्धी मुद्दामा कारबाही अघि बढ्ने जनाइएको छ । करिव १० लाख मूल्य बराबरको रहेको डिएसपी तिम्सिनाको भनाइ छ ।