रङ्गेली / दशैको टिका दिन विराटनगर–१४ मा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जना मध्ये एक जनालाई विहिबार सार्वजनिक गरिएको छ । बाँकी पाँच जना १८ वर्ष भन्दा कम उमेरका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको पत्रकार सम्मेलन गरि अभियुक्तलाई सार्वजनीक गरेको हो । कात्तिक २ गते दशैंको मेला घुम्ने क्रममा विराटनगरका –१४ का राहुल भगतको विराटनगर वुधहाट चौक हनुमान मन्दिर अगाडि छुरा प्रहार गरी हत्या भएको थियो । उक्त हत्याको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोमा विराटनगर ११ का १८ बर्षिय कुहिरा भन्ने बिशाल सहनीलाई सार्वजनिक गरेको छ । अन्य ५ जना १६ बर्ष देखि १८ बर्ष कम उमेरका भएकोले सार्वजनिक नगरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । मेला घुम्न गएका साथीहरुबीच सामान्य भनाभन र झगडा भएकै आधारमा अभियुक्तहरुले घेराहाली भगतलाई छुरा प्रहार गरेको प्रहरी उपरिक्षक केसीले बताए । हत्यामा संलग्नताको आसंकामा २२ जनासँग सोधपुछ गरिएको उनले बताए ।  छुरा प्रहार भएको क्षेत्रमा राखिएका सिसि टिभि फुटेजको बिश्लेषण र अन्य आधारहरुबाट अभियुक्तहरुसम्म पुग्ने सफल भएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । पक्राउ गरिएका बिरुद्ध कर्तब्य ज्यानमुद्धा अन्तरगत थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

यस्तो छ हत्याको कारण

मेला हेर्न आएका भगतलाई भीडमा ठेलेको निहुमा सबिन कामतसँग सामान्य विवाद भएको थियो । भीडमा ठोक्किएको निहुँमा विवाद भएको करिब ७ मिनेटपछि राहुलमाथि छुरा प्रहार भएको प्रहरीको भनाइ छ । सबिनसँग आएका युवाहरुले मेलामै घेरा हालेर कुटपिट गरी छुरा प्रहार गरेका थिए । प्रहरीका अनुसार १८ वर्षीय टेम्पो चालक सहनीले राहुललाई छुरा प्रहार गरेका हुन् । ‘छुरा प्रहार गर्ने र मृतक बीच सामान्य चिनजान पनि देखिदैन,’ मोरङ प्रहरी प्रमूख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने, ‘साथीलाई हातपात गरेको निहुँमा किशोरहरुको समूहले घेरा हालेर कुटपिट गरी छुरा प्रहार गरेको देखिन्छ ।’ उनले घटना संलग्न सबै १८ वर्षभन्दा कम उमेरका छन ।  छुरा प्रहार भएका राहुलको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हत्या गरी फरार भएकाहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पेन्टिङको काम गर्ने राहुल सामान्य परिवारका व्यक्ति हुन् । हत्यामा संलग्न किशोरहरु पनि सामान्य परिवारकै रहेको प्रहरीले जानकारी दिएको छ ।