धरान/ सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत अवस्थामा रहेसँगै सुनको मूल्य पनि बढेको हो ।
नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन् । यसअघि २०६९ भदौमा ६३ हजार रुपैयाँसम्ममा सुनको कारोबार भएको थियो । त्यसयता ६० हजारमुनि रहेको सुनको मूल्य बुधबार ६० हजार १ सय रुपैयाँ पुग्यो ।
बिहीबार ३ सय रुपैयाँले सुनको मूल्य बढेको हो । दशैं सकिएर तिहार नजिकिँदै गर्दा सुन महँगो भएपछि व्यवसायसमेत प्रभावित भएको व्यवसायीहरू बताउँछन् ।
‘अहिले सिजन भएकाले सुनको कारोबार उच्च हुने गरेको छ, तर मूल्य उच्च हुँदा केही प्रभाव पारेको छ’–महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।
कमजोर भारुका साथै विश्वका मजबुत शेयर बजार घट्नुले पनि लगानीकर्ता सुनमा आकर्षित हुँदा माग बढेको सञ्चारमाध्यमले जनाएका छन् । सुनको मूल्य बढ्दा व्यापार घाटा बढ्न जान्छ ।
अझ पछिल्लो समय नेपाल राष्ट्र बैङ्कले दैनिक आयात गर्न पाउने सुनको कोटा बढाएर २५ केजी पुर्याएको छ । वाणिज्य बैङ्कहरूले पालैपालो तोकिएको परिमाणमा सुन ल्याएर व्यवसायीहरूलाई बिक्री वितरण गर्ने गरेका छन् ।
मूल्य र परिमाणसँगै बढेर जाँदा आगामी दिनमा सुनका लागि बाहिरिने रकममा उच्च वृद्धि हुनेछ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सुनको आयातका लागि ३२ अर्ब २० करोड रुपैयाँ बाहिरिएको छ ।
विदेशिएका नेपालीले ल्याउने सुनका गहनाको हिसाब यसमा छैन । विदेशिएका नेपालीले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ ।