इनरुवा/ नम्बरप्लेट बिना सडकमा गुडाइएका दुई दर्जन बढी विद्युतीय रिक्सा (सिटीसफारी) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

इनरुवा बजारक्षेत्रमा नम्बरप्लेट बिनै कुदाइएका सिटीसफारीसहित चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीको हातामा राखिएको छ ।

ट्राफिक प्रहरी पोष्ट सखुवागाछीको टोलीले सिटी नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो ।

इनरुवाका ट्राफिक प्रहरी इञ्चार्ज उत्तम भण्डारीले नम्बर प्लेटबिना गुडेका सफारीले दुर्घटना गरेको खण्डमा कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन समस्या हुनुकासाथै जोखिमसमेत बढाउने भएकाले नियन्त्रणमा लिइएको बताए ।

अभियानलाई तीव्रता दिइने र नियन्त्रणमा लिएका सफारीको हकमा नम्बर प्लेट राखेपछि जरिवाना तिराएर सचेत गराई छाडिने ट्राफिक प्रहरी ओमप्रकाश यादवले जानकारी दिए ।