सिरहा/सिरहाको मिर्चैया नपाले खरिद गरेको सेफ्टिट्याङ्क खरिद गरेको दुईवर्ष पुग्न लाग्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

लाखौं लगानी गरीे खरिद गरिएको सेफ्टिट्याङ्क कामविहीन भएर बस्दा स्थानीय जनता महँगोमा निजी सेफ्टिट्याङ्कबाट सरसफाइ गर्न बाध्य भएका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ मै करिब ३० लाख रुपैयाँमा खरिद गरेको भए पनि अझैसम्म सञ्चालनमा आउन नसकेको वडा नं. ५ का वडाअध्यक्ष धीरेन्द्र साहले बताए ।

उनले भने, ‘यो सेफ्टिट्याङ्क हामी निर्वाचित हुनुभन्दा पहिले खरिद भएको हो तर अहिलेसम्म किन सञ्चालन हुन नसकेको भने आफूलाई कुनै जानकारी छैन ।’ उनले थपे, ‘पछिल्लो एक वर्षको अवधिमा दुई दिनजति सेफ्टिट्याङ्क स्टार्ट गरेर ठाउँ सार्नेबाहेक कुनै सेवा दिन सकेको छैन, यस विषयमा मलाई योभन्दा अरु केही थाहा छैन ।’

स्थानीय व्यवसायी तथा समाजसेवी अशोककुमार साहले नगरपालिकासँग भएको सेफ्टिट्याङ्क खरिद गरेको वर्र्षौं बितिसक्दा पनि सञ्चालनमा नआउनु दुःखद् भएको बताए ।

उनले भने, ‘नगरपालिकासँग भएको सेफ्टिट्याङ्क सञ्चालन गर्दा स्थानीय जनताले सस्तो र सुलभ तरिकाले सेफ्टिट्याङ्की सफा गर्न पाउँथे, नगरपालिकाको आयआर्जन पनि हुन्थ्यो, तर त्यति ठूलो लगानीमा खरिद गरिएको उपकरण त्यसै थन्किनु राम्रो होइन ।’

यसबारे जनप्रतिनिधिले पनि ध्यान दिनु जरुरी रहेको साहले बताए । साहले नगरक्षेत्रबाट निस्केका सेफ्टिट्याङ्कीको मलले स्थानीय जनताको खेतबारी पनि मलिलो बनाउन सहयोग पुग्ने बताए ।

नगरपालिकाका इञ्जिनियर राजेशकुमार साहले नगरपालिकाको आफ्नै छुट्टै डम्पिङसाइड नभएकाले सेफ्टिट्याङ्क सञ्चालनमा नल्याएको बताए । उनले भने, ‘डम्पिङ साइडको लागि जमिन खोजी भइरहेको छ, प्राप्त हुने बित्तिकै सञ्चालनमा आउँछ ।’