धरान /  प्रदेश २ को राजधानी र नाम राख्ने विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग बनाएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डा हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरेको हो । मन्त्रिपरिषदको बैठकले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषय टुङ्गो लगाउन आयोग गठन गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।  आयोगको टोलीमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेशको राजधानी र नामाङ्कनको बिषयमा विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्थासँग राय सल्लाहा सुझाव माग्ने छ । स्थायी राजधानी र नामको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि मन्त्रिपरिषदमा निर्णय भएको हो । प्रदेश २ को अस्थायी मुकाम जनकपुर रहेको छ । नामका विषयमा मिथिला, मधेशलगायतको विषयमा बहस भईरहेको छ ।