काठमाडौं / नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र(एमओयू) मा आज हस्ताक्षर भए पछि अव नेपाली कामदार निशुल्क मलेसिया जान पाउने भएका छन् । औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको मलेसिया र नेपालबीच काठमाडौंको होटल हायातमा आयोजित समारोहबीच हस्ताक्षर भएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले सोमबार हस्ताक्षर गरेका छन् ।
अव गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति खुलेको छ। वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली श्रमिकको हकमा आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च (फ्रि भिसा र फ्रि टिकट) रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ। रोजगारीका लागि मलेसियामा कार्यरत श्रमिक बिरामी र दुर्घटनामा परे रोजगारदाता कम्पनीले अनिवार्य क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । मलेसियाले लिँदै आएको लेबी अथवा होस्टेल चार्ज रोजगारदाताले बेहोर्ने, वार्षिक रुपमा तलब समायोजन गर्नुपर्ने विषय पनि एमओयूमा समावेश गरिएको छ। मलेसिया जाँदा स्वास्थ्य लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ।
अर्को महत्वपूर्ण कुरा आमा वुवा, श्रीमान् श्रीमती र छोराछोरीको मृत्यु भए कम्तीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था गरिएको छ। यस अघि परिमराउ पर्दा विदा पाउदैन थिए । कामदारको बैंक खातामा रोजगारदाता कम्पनीले हरेक महिना ७ गते तलब भुक्तानी गराइसक्नुपर्ने सम्झौता गरिएको छ । कामदार विमानस्थल पुगेको ६ घन्टाभित्र कम्पनीले गन्तव्य स्थलमा लैजानुपर्ने र महिलाको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने पनि समझदारीपत्रमा भनिएको छ । कामदारले पासपोर्ट आफै राख्न पाउने र करारअवधि दुई वर्षको हुने पनि उल्लेख गरिएको छ। अवधि सकिएर स्वदेश फर्कंदा कम्पनीले नै हवाई टिकट उपलब्ध गराउनुपर्ने छ। उनीहरुले अव लेभी पनि तिर्नु पर्ने छैन् ।