उर्लाबारी/ उर्लाबारी–८ स्थित दुर्गापुरीमा भएको प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगितामा मेघा स्पोर्ट क्लब विराटनगरलाई हराउँदै मुनाल क्लब चन्द्रगढी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुनाल क्लबले मेघा क्लबलाई १–० गोलको अन्तरले पराजित गरेको हो । चन्द्रगढीको जितमा पहिलो हाफमा खेलका म्यान अफ दी म्याच कर्ण लिम्बूले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।

कुलझोडा युवा क्लबको आयोजनामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिताको सोमबार उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेकी थिइन् ।

आयोजक समितिका संयोजक कमल फियाकको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको प्रमुख आतिथ्यतमा भएको सो प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा प्रदेश १ का ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा मङ्गलबार दमक फुटबल कलब झापा र धरान फुटबल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख नगद तथा उपविजेताले एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ ।