इटहरी/हरिनगर–२ भुटाहा बजारमा अज्ञात समूहले गोली प्रहार गरी स्थानीय मौलाना खुर्सिद आलम हत्याकाण्ड अझै रहस्यमय बन्दै गएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका हतियारधारीले हत्या गरे पनि हत्या किन र कसरी भयो भन्ने विषयमा अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी एसपी रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाई, प्रदेश १ का आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डेले बनाएको प्रतिवेदन गुपचुपमा राखिएको छ ।
हत्या किन र के कारणले भयो भन्ने विषयमा समेत प्रतिवेदनमा उल्लेख नगरेको समितिका एक सदस्यले बताए ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले छानविन चुस्तदुरुस्त गर्नुपर्ने बताए । उनले अनुसन्धान गरेर हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन लाग्नु पर्ने बताए । उनले भने, ‘घटना किन, कसरी र के का लागि भयो, तत्काल पत्ता लगाइयोस् ।’ खुर्सिद हत्या प्रकरणको छानविनका क्रममा टोलीले आफन्त, छरछिमेक, प्रहरीसहित स्थानीयबासीसँग बयान लिएको थियो ।
सुनसरीका एसपी राजन अधिकारीले अनुसन्धान जारी रहेको कारण अहिले केही बोल्न सक्ने अवस्था नभएको बताए । ‘अहिले पनि अनुसन्धानकै क्रममा रहेको कारण म अहिले बोल्दिन’ उनले भने, ‘माथिल्लो निकायले छानविन गरिरहेको छ, अनुसन्धान हुँदैछ ।’ अहिले सीमाक्षेत्रमा प्रहरीले समेत कडाइ गर्दै आएको उनी बताउँछन् ।
खुर्सिद हत्या छानविन समितिको संयोजक प्रदेश १ का एसएसपी किशोर दाहालले आफूहरूले ढिलो गरेर भए पनि प्रतिवेदन सरकारलाई बुझाइसकेको बताए ।
‘हामीलाई प्रतिवेदनको बारेमा बाहिर नबोल्न माथिल्लो निकायको आदेश छ’ एसएसपी दाहालले भने, ‘यस विषयमा माथिल्लो निकायसँग समन्वय गरेर कुरा गर्छु, अहिलेसम्म मैले भन्ने अवस्था छैन, प्रतिवेदनमा के के छ बोल्न मिल्दैन ।’ ‘छानविन समितिको प्रतिवेदन के आयो, मलाई पनि थाहा छैन’ सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भने, ‘घटना अहिलेसम्म कसरी भयो पत्ता लागेको छैन, अनुसन्धानको क्रम भने रोकिएको छैन ।’ ‘प्रतिवेदनको विषयमा अहिलेसम्म मलाई प्रहरीले जानकारी दिएन, प्रतिवेदन गृहमन्त्रालय पठाएहोला, मलाई थाहा भएन’ उनले भने ।
सरकारको लापरबाहीका कारण पटक–पटक मुस्लिम अगुवाहरूको हत्या भएको र हत्याराका बारेमा अहिलेसम्म सत्य–तथ्य बाहिर ल्याउन सरकार असफल भएको भन्दै मुस्लिम अगुवाहरूले विरोध गर्दै आएका छन् ।
हत्यारा पत्ता लगाउन प्रहरी असफल भएको भन्दै प्रहरीको विरोध हुँदै आएको छ । अधिकांश ठूला घटनामा प्रहरी कमजोर देखिँदै आएको छ ।