बेइजिङ/ यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदुर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए ।

हालसम्म एकजना मजदुरको मात्र उद्धार गरिएको छ । अन्य दुईजनाको खोजी कार्य जारी छ ।

उक्त दुर्घटना शान्दोङ प्रान्तको लङ्ग्युन कोल माइनिङ कम्पनीको खानीमा भएको हो । चीनमा बर्सेनी खानीमा घातक दुर्घटनाहरू हुने गरेका छन् । डिसेम्बर २०१६ मा भएका दुईवटा खानी दुर्घटनामा कम्तीमा ५९ जना मजदुरको ज्यान गएको थियो ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा ३ सय ७५ जना मजदुरको मृत्यु भएको थियो ।

चीनमा अवैध कोइला खानी सञ्चालनका साथै सुरक्षाको भरपर्दाे व्यवस्था नहुँदा ठूलो संख्यामा मजदुरको ज्यान जाने गरेको छ ।