रासस-एएफपी/ बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवम् प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ ।
खालिदा जियाका समर्थकहरूले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । भ्रष्टाचारको आरोपमा उनीमाथि पाँच वर्षको जेल सजाय तोकिएको छ ।
अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताहरूबीच झडप भएको छ ।
७३ वर्षीया जियाले कारागारभित्रैबाट बीएनपीको नेतृत्व गरिरहेकी छन् ।
पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।
पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको छ ।
जियाको पार्टी बीएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन, तर उनका वकीलहरूले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् ।
जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिष्कार गरेको थियो । जियामाथि हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दाहरू पनि अदालतमा विचाराधीन छन् ।
ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ । उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।
जियाको मुद्दाको सुनुवाइ गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रूपमा परिणत गरिएको छ । उनका वकीलहरूले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् ।
गत महिना पनि अदालतले हाल बेलायतको लण्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ ।