[caption id="attachment_12829" align="alignnone" width="650"] फायल फाेटाे[/caption]

सिरहा/सिरहाको कर्जन्हा नगरपालिकामा अवैध रूपमा लगाइएको गाँजाखेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय मिर्र्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र साह र सशस्त्र प्रहरी बल बेसक्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) गहेन्द्रबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त प्रहरीको गस्ती टोलीले कर्जन्हा नगरपालिका वडा नं. ५ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको करिब साढे ३ बिघा जमिनको २५ हजार गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो ।

अवैध रूपमा लगाइएको गाँजाखेती फँडानी गर्न अभियान नै सञ्चालन गरी गाँजा फँडानी गरिएको प्रहरीले बताएको छ ।

गाँजा लागूऔषध भएकाले यसको खेती, उत्पादन, खरिद–बिक्री तथा ओसार–पसार गर्नेलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही हुनेसमेत प्रहरीले बताएको छ ।

सोही क्रममा प्रहरी टोलीले कर्जन्हा नगरपालिका वडा नं. ५ मा ५ सय लिटर घरेलु मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ पक्राउ गरी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक साहको कमाण्डमा २९ जना र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प मिर्चैयाका प्रहरी नायव उपरीक्षक भण्डारीको कमाण्डमा ११ जना गरी जम्मा ४० जनाको संयुक्त टोली उक्त स्थानमा गई स्थानीयको घरमा रहेको घरेलु मदिरा तथा मदिरासहित उत्पादन गर्न तयार पारिएको कच्चापदार्थ करिब सात हजार लिटर स्थानीयको रोहवरमा नष्ट गरेको छ ।

मदिरा उत्पादन गर्न प्रयोग गरिएका २५ वटा भाँडाकुँडासमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गाँजा र घरेलु मदिराले समाजमा झै–झगडा हुनुको साथै विकृति बढ्ने भएकाले नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक साहको भनाइ रहेको छ ।