धरान / सर्लाहीको रामनगरमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।
रामनगर गाउँपालिका–४ मा बिहान झडप भएको थियो । झडपका क्रममा गोली लागेर कांग्रेस कार्यकर्ता रामविलास महतोको ज्यान गएको छ । दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले घटनालाई नियन्त्रणमा लिनका लागि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
नेकपाका कार्यकर्ताले ४ नम्बर वडाध्यक्ष रामनरेश महतोलाई सोमबार हातपात गरेको विषयमा विवाद भएको थियो । सोही विवादले मंगलबार बिहान झडपको स्थिति सिर्जना भएको हो । झडपमा कांग्रेसका चारजना कार्यकर्ता घाइते बनेको प्रहरी निरीषक कुन्दन देवले जानकारी दिए ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोलाई माओवादीमा आउनका लागि दवाव दिएको भन्दै विवाद सिर्जना भएको थियो । सोही विवादले घटना घट्न गएको बताइएको छ । गोली कसले चलाएको हो भन्ने विषयमा खुल्न सकेको छैन । यसविषयमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।