विराटनगर/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको आयोजनामा दशौं प्याब्सन स्पोर्टस् मिट २०७५ आज मङ्गलबारदेखि शुरु हुँदैछ । अनुशासन, फ्रेन्डसिप, स्वास्थ्य र शान्तिको लागि खेलकुद भन्ने नाराका साथ प्याब्सन मोरङले स्पोर्टस् मिट शुरु गरेको हो ।

मोरङको लक्ष्मीमार्गमा हुने प्रतियोगितामा मोरङका २ सय ३८ विद्यालयका १ हजार ५ सय बढी खेलाडी सहभागी हुने प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । माघ १० गतेसम्म सञ्चालन हुने प्याब्सन स्पोर्टस् मिटमा १ लाख बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

‘प्रत्येक वर्ष हुँदै आएको प्रतियोगिता विगतको केही वर्ष प्रतियोगिता हुन सकेन,’ अध्यक्ष बस्नेतले भने, ‘यस वर्ष हुन लागेको प्रतियोगिता भव्य र सभ्य हुनेछ । यसको लागि प्याब्सन लागिपरेको छ ।’ प्याब्सन मोरङले २०६३ सालदेखि प्याब्सन स्पोर्टस् मिट गर्दै आएको छ ।

गत वर्ष भूकम्प र बाढी आएका कारण प्याब्सन मोरङले सामाजिक काम गरेको प्याब्सन मोरङका सचिव प्रेमलालसिंह सुवालले बताए । यस वर्ष हुन लागेको स्पोर्टस् मिट तीन वर्षपछि हुन लागेको हो ।

‘सधै विराटनगर महानगरपालिका क्षेत्रमा स्पोर्टस् मिट हुँदै आएको थियो,’ उनले भने, ‘यस पटक महानगर बाहिर मोरङको पूर्वी क्षेत्रमा हुँदैछ ।’ मङ्गलबारदेखि तीन दिनसम्म सञ्चालन हुने प्याब्सन स्पोर्टस् मिटको सम्पूर्ण तयारी समेत पूरा भएको सचिव सुवालले बताए ।

विभिन्न २५ भन्दा बढी एथ्लेटिक्स र भलिबल खेलमा विद्यार्थीहरूबीच स्पर्धा हुँदैछ । प्रतियोगितामा रिले दौड, लङ जम्प, हाइ जम्प, ट्रिपल जम्प, सर्टपुट, ज्याब्लिङ थ्रो हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्याब्सन स्पार्टस् मिटको प्रदेश–१ का प्रमुख डा.गोविन्द तुम्बाहाङले उद्घाटन गर्ने कार्यक्रम छ ।