बेलबारी/ मोरङको भाउन्नेस्थित लोकमार्गदेखि दक्षिणमा रहेको सृजना सामुदायिक वन क्षेत्रलाई अहिले मूर्तिले सजाइदै छ । 
 
विभिन्न कला कौशलताले कुँदिएको मूर्तिको सजावटबाट अहिले सृजना सामुदायिक वन अन्तर्गतको सृजना पार्कको सौन्दर्य बेग्लै बन्दै गएको छ । सामुदायिक वनको ३३ बिघा क्षेत्रफललाई सृजना पार्क नामाकरण गरी अहिले मूर्ति बनाउने कार्य धमाधम भइरहेको छ । अरु वन जस्तै सामान्य अवस्थाको वन क्षेत्रमा ठूला–ठूला ढुङ्गामा एकाएक मूर्ति बनाउन थालिएपछि अहिले भाउन्ने बजारसँगै जोडिएको त्यो जङ्गलको रूप बदलिँदै गएको छ ।
 
धनु आर्ट स्टुडियो काठमाडौका संस्थापक धनु याखाको अवधारणअ अनुरूप अहिले मूर्ति बनिरहेको हो । भाउन्ने निवासी याखाले मूर्तिकला सम्बन्धी केही काम आफ्नै ठाउँमा गरेर पनि देखाउन सकिन्छ र त्यसलाई चेतना र आर्थिक विकाससँग जोड्न सकिन्छ भन्ने योजनासहित अगाडि ल्याएको बताएका छन् । लोकमार्गदेखि दक्षिणमा रहेको वनक्षेत्रलाई सदुपयोग गरौं, गाउँमा केही नयाँ काम गरौं भनेर पार्कको अवधारण बनाउन लागेको याखाको भनाइ छ ।
 
सामुदायिक वन समूहको सौन्दर्यता र आयआर्जन बढाउनका लागि पनि यस सृजना सामुदायिक वनले सृजना पार्कको लागि लगानी गरेको अध्यक्ष छत्र लिम्बूले बताए । हाल १८ दिने कार्यशालाको लागि करिब एक करोड ८० लाखको योजनामा समापन गरिने भएको छ । यस योजना धनु आर्ट स्टुडियो काठमाडौं, बेलबारी नगरपालिका, सृजना सामुदायिक वनको संयुक्त आयोजनामा भइरहेको छ ।  
 
यस पार्कको डिपीआर निर्माण गरी यसलाई सांस्कृतिक पर्यटकीय, अध्ययन केन्द्रको रूपमा विकास गरिने भएको छ । पार्कमा मूर्ति कुँदिए सँगसँगै अहिले स्थानीय तथा प्रदेश सरकारका मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूले उपस्थिति जनाई निर्माण कार्यको लागि हौसला प्रदान गरिरहेका छन् ।
 
शनिबार प्रदेशका कानूनमन्त्री हिक्मत कार्की, सांसद् राजकुमार ओझा, बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीलगायतले पार्कको अवलोकन गरेका थिए ।