विराटनगर । विराटनगरमा हुँदै आएको विराट गोल्डकप यस पटक पनि गर्न तयारी सुरु गरिएको छ । विराट गोल्डकप ट्रष्टले प्रतियोगिता आयोजना गर्न तयारी थालेको हो । यस पटक हुने गोल्डकप रात्रीकालिन हुने भएको छ ।
गोल्डकप गर्ने विषयमा विराटनगरमा बिहीबार भएको छलफलमा सहभागीले यस पटक पनि गोल्डकपलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । छलफलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किसोरलाल अमात्य, कार्यालय प्रमुख देवराज कट्वाल, गोल्डकप ट्रष्टका पदाधिकारी, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल र संघका पदाधिकारी, क्षेत्रीय खेलकुद विकास समितिका चण्डीराज बास्तोला, उद्योग व्यापारी तथा पूर्व फुटबलरको उपस्थिति रहेको थियो ।
विराट गोल्डकप ट्रष्टका कार्यवाहक अध्यक्ष सन्तोष बानियाले छलफलबाट यस पटक पनि भव्य रुपमा गोल्डकप आयोजना गर्ने निर्णय गरेको बताए । यस पटक पनि प्रतियोगिताको आयोजक समितिका मुख्य संयोजकका रुपमा मोरङ व्यापार संघको महासचिब तथा उद्योगी नवीन रिजाललाई निरन्तरता दिँदै प्रतियोगिता आयोजनाको जिम्मेवारी दिने भएको छ । यस पटक हुने गोल्डकप फ्लड लाइटको साहारमा साझ हुने बताइएको छ । फ्लड लाइटको व्यवस्थापन गर्न तयारी थाल्ने भएको छ ।
‘एन्फासँग नयाँ मितिका लागि पहल गर्ने र सबै प्रक्रिया समयमै भए जेठमा रात्रीकालीन गोल्डकप आयोजना गर्ने भएका छौं,’ बानियाले भने, ‘विराटनगरमा मात्रै नभएर देशमै चर्चित रहेको विराट गोल्डकप आयोजनको जिम्मेवारी रिजाललाई दिएसँग आन्तरिक तयारीमा जुटेका छौं । लाइटको समयमै व्यवस्थापन र एन्फाले गोल्डकपको मिति तय गरिदिए रात्रीकालीन गर्न सक्ने विगतको अनुभवले बताएको छ ।’
यस पटकको गोल्डकपको मिति चैत ९ गते एन्फाले तोकेको थियो । ‘यो मितिमा विराटनगरले पहिलो पटक काठमाडौंपछि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न पाउँदा यहाँका खेलाडी तथा खेलकुद प्रेमी धेरै खुसी भएका छन्,’ बानियाले भने, ‘अब विराटनगरले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको र अहिले भइरहेको साफ महिलालाई सबैले सहयोग गर्दै लैजान सके भविष्यमा अरु पनि अन्तर्राष्ट्रिय प्रतियोगिता यहाँ आयोजना गर्न एन्फालगायत अन्य निकायले सोच्न बाध्य हुने छन् ।’
गत वर्ष भएको विराट गोल्डकप रात्रीकालीन आयोजना भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन खेलदेखि नै अत्यधिक दर्शकको उपस्थिति रहेको थियो । यो रात्रीकालीन प्रतियोगिता आयोजना गर्न काठमाडौंपछि विराटनगर नै पहिलो हो ।