विराटनगर / पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरको शहीद रङ्गशालमा शुक्रबार भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० गोलले हराएको हो । माल्दिभ्सको पराजयपछि भारतले एक खेल अगावै अन्तिम चारमा स्थान पक्का ग¥यो । श्रीलङ्का र भारतसँगको लगातारको हारले माल्दिभ्स शुक्रबार लिग चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा माल्दिभ्स भारतसँग ६–० ले पराजित भएको थियो ।
खेल अवधिभर माल्दिभ्सलाई दबाबमा राखेको श्रीलङ्काले खेलको ३७ औं मिनेटमा पाएको हेण्डको सदुपयोग गर्दै श्रीलङ्काकी फरवर्ड चलिनीकुमारी इकानायाकेले डिबक्स भित्रबाट हानेको फ्री–किक गोलमा परिणत भएको थियो । आक्रामक रूपमा मैदानमा उत्रिएको श्रीलङ्काका लागि खेलको ५० औं मिनेटमा अचला सञ्जीवनी परेलाको पासलाई सदुपयोग गर्दै चलिनीकुमारीले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरेकी थिइन् ।
श्रीलङ्काका लागि माल्दिभ्सका गोलकिपर अमिनथ लिजा बाधक बने । खेलअवधिभर बल नियन्त्रणमा राखेको श्रीलङ्काले गोल गर्ने एक दर्जन अवसर खेर फालेको थियो । खेलको १९ औं मिनेटमा श्रीलङ्काका कप्तान इराण्डी किलाङको उत्कृष्ट प्रहार माल्दिभ्सका गोलकिपरले सानदार रोकिन् । २३ औं मिनेटमा श्रीलङ्काकै कप्तान इराण्डीको वान भर्सेस वानको प्रहार पोलमाथिबाट बाहिरियो ।
माल्दिभ्सले भने गोल गर्ने केही अवसर सिर्जना गरेको थियो । तर माल्दिभ्सका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । खेलको ७७ औं मिनेटमा माल्दिभ्सका मारियाम रिफाले डिक्बस भित्रबाट गरेको उत्कृष्ट प्रहार श्रीलङ्काकी गोल किपरले रोकिन् । फदुवा जाहिरले बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा माल्दिभ्स घर फर्किन बाध्य भयो । जितसँगै श्रीलङ्काले ३ अङ्क जोडेको छ । श्रीलङ्काले साफ महिला च्याम्पियनसिपमा तेस्रोपटक सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि उसले सन् २०१० र २०१२ मा साफमा सेमिफाइनल खेलेको थियो । माल्दिभ्स भने एकपटकमात्र अन्तिम चारमा पुगेको थियो ।
श्रीलङ्काले आइतबार भारतसँग खेल्नेछ । आयोजक नेपालले समूह ‘ए’ को अन्तिम खेल शनिबार घरेलु मैदानमा गत वर्षको उपविजेता बङ्गलादेशबीच प्रतिस्पर्धा गर्नेछ । यो खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहबाट भुटान भने दुबै खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । सेमिफाइनल पुग्ने सबै टिमले एक–एक खेल खेल्न बाँकी छ । श्रीलङ्काका प्रशिक्षक रोहनतिलक अल्पोसुनले खेलाडीहरूले माल्दिभ्ससँगको खेलमा राम्रो खेलेका कारण आफ्नो पक्षमा नतिजा आएको बताए । ‘खेलाडीहरूले अभ्यास पनि राम्रो गरेका थिए,’ खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘साफ खेलमा खेलाडीले राम्रो खेल्दा हाम्रो जित भयो ।’ बलियो मानिएको टिम भारतसँग दोस्रो खेल परेकाले नयाँ रणनीतिका साथ जित आफ्नो पक्षमा पार्ने योजनासहित खेलाडी मैदान उत्रिने उनले बताए ।
यता माल्दिभ्सका प्रशिक्षक साथिफ मोहम्मदले खेलाडीहरूले राम्रो खेल्दाखेल्दै पनि पराजय भोग्नु परेको बताए । ‘हाम्रा तीन जना खेलाडीहरू चोटका कारण घाइते थिए,’ उनले भने, ‘ती खेलाडीले खेल्न नसक्दा पनि नतिजा सोचेजस्तो आउन सकेन ।’