पथरी/ किरात राई खेलकुद सङ्घ मोरङकी अध्यक्ष निता राईले दर्तासमेत नभएका केही अनलाइनले आफ्ना बारेमा केही दिनदेखि भ्रामक कुराहरू लेखिरहेको बताएकी छन् ।
मोरङ पथरीशनिश्चरे नगरपालिकास्थित पथरी बहुमुखी क्याम्पसकी उपसभापति समेत रहेकी राईले पत्रकारिता क्षेत्रको दुरुपयोग गरेर राजनीतिक प्रतिशोध लिन त्यस्ता समाचार प्रकाशित गरेको आरोप लगाइन् ।
‘मैले महिला भलिबल प्रतियोगिताको आयोजना गरेर अपराध गरेको भए हातकडी लगाएर लान चुनौती दिन्छु’ –राईले भनिन् ।उनकै नेतृत्वमा रहेको किरात राई खेलकुद सङ्घले गएको फागुन ३० गते मोरङ जिल्ला क्याम्पस स्तरीय प्रथम भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । सो दिन विप्लव नेकपाको नेपाल बन्दको कारण दुई वटामात्र क्याम्पस आएपछि पथरीको दुई वटा निजी स्कुलहरू सहभागी गराएर चारवटा टिमबीच प्रतियोगिता गराएकी थिइन् ।
६ टिममा दुई वटामात्र क्याम्पस सहभागी भएको, क्याम्पसस्तरीय भनेर दुई वटा स्कुललाई सहभागी गराएर राईले ब्रह्मलुट, ठगी, झारो टार्ने काम गरेकोलगायतका शब्दहरू प्रयोग गर्दै केही अनलाइनले समाचार लेखेपछि किरात राई खेलकुद सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।
हिसाब सार्वजनिक
महिला भलिबल प्रतियोगितामा नगद उठेको ६९ हजार ९ सय ५ र खर्च ८३ हजार ७ सय ४५ रुपैयाँ रहेको हिसाब सार्वजनिक गरिएको छ । ३५ हजार उठ्न बाँकीसमेत रहेको हिसाब सार्वजनिक गरिएको छ । हिसाब हेर्दा नगद उठेकोमा १३ हजार ८ सय ४० घाटा देखिन्छ । उठ्न बाँकी ३५ हजार उठेमा मात्र २१ हजार १ सय ६० रुपैयाँ संस्थाका लागि बच्ने देखिन्छ ।
केही पत्रकारले सञ्चालन गरेका अनलाइनले निरन्तर राईमाथि प्रहार गरेपछि सङ्घले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कुरा राखेको हो । पत्रकारमाझ राईले महिला खेलाडी र भलिबल खेलको विकास होस् भन्ने उद्देश्यले खेलको आयोजना गर्नु अपराध नभएको स्पष्ट पारिन् ।
स्ववियुको कार्यकाल समापन हुन लागेको केही महिनाअघि निर्वाचन हुने हल्ला चलेपछि काङ्ग्रेसनिकट र नेकपानिकट विद्यार्थी सङ्गठनबीच राजनीतिक दाउपेच बढेको छ । निताले आफ्नो लोकप्रियता देख्न नसकेर नेवि सङ्घ र स्ववियु पदाधिकारीहरूको इशारामा पत्रकार प्रयोग हुँदै आइरहेको बताइन् ।