विराटनगर/ नेपाले पहिलो पटक घरेलु मैदानमा इतिहास रच्ने अवसर प्राप्त गरेको छ । 
 
साविक विजेता भारतसँग पाँचौं साफ महिला च्याम्पियनसिपमा आज (शुक्रबार) उपाधिका लागि भिडन्त गर्दै छ । जहाँ नेपाललाई सुनौलो अवसर प्राप्त भएको छ । भारतले चार पटक नै उपाधि जितिसकेको छ । प्रतियोगितामा भारत र नेपाल चौथोपल्ट फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
 
घरेलु दर्शकको हौसला र आफ्नै भूमिमा नेपालले भारतलाई पराजित गर्दै इतिहास रच्ने तयारीको साथ मैदान उत्रिदै छ । उपाधि मात्र होइन, भारतलाई साफ च्याम्पियनसिपमा कुनै पनि टिमले हराउन सकेको छैन । साफ च्याम्पिनसिपमा एक्लो रेकर्ड बनाएको भारतले पाँचौं उपाधिका लागि नेपालसँग भिड्दैछ । नेपालले पहिलो पटक घरेलु भूमिमा भारतलाई हराउने उत्कृष्ट अवसर प्राप्त गरेको छ । नेपाल र भारत पछिल्लो पटक साफ च्याम्पियनसिप बाहेक २ खेलमा भिडेका थिए । म्यानमारमा भएको ओलम्पिक छनोटको खेलमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।
 
त्यतिबेला नेपालले पहिलो पटक भारतलाई रोक्दै इतिहास बनाएको थियो । भारतमा भएको हिरो महिला गोल्डकपमा नेपालले भारतलाई हराएको थियो । नेपालले भारतीय महिला टिमलाई हराएको त्यो नै पहिलो पटक हो । यसरी पछिल्ला २ खेलमा भारतसँग उत्कृष्ट खेलेको नेपालका लागि शुक्रबार इतिहास बनाउने मौका छ । नेपालले सेमिफाइनल खेलमा श्रीलङ्कालाई ४–० को फराकिलो  गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसअघि पहिलो चरणमा नेपालले भुटान र बङ्गलादेशलाई ३–० गोल अन्तरले हराएको थियो । भारतले बङ्गालदेशलाई ४–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । पहिलो चरणमा भारतले माल्दिभ्स ६–० र श्रीलङ्कालाई ५–० गोलले पराजित गरेको थियो । 
 
इतिहास रच्छौं : हरि खड्का 
नेपालका प्रशिक्षक हरि खड्काले शुक्रबार उपाधि जितेर इतिहास रच्ने दाबी गरे । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको टिम भावना बलियो भएको बताउँदै उपाधि जित्ने बताए । ‘फाइनलसम्मको यात्रा तय भएको छ । भारत दक्षिण एसिया क्षेत्रमा स्थापित टिम हो । हामी स्थापित हुने क्रममा छौं,’ उनले भने, ‘मैले महिला टिम सम्हालेपछि हामीले भारतविरुद्ध अहिलेसम्म २ वटा खेल खेल्यौं ।
 
एउटा बराबरी र एउटामा जीत हात पार्न सफल भयौं ।’ भारत सधैं बलियो टिम भए पनि उनीहरूको तीन चार जना मुख्य खेलाडीलाई रोक्नुपर्ने उनले बताए । ‘हामी आक्रामक खेलमा विश्वास गर्छौं,’ उनले भने, ‘हामीले आफू बचेर खेल्नु पर्नेछ । हाम्रो टिम सन्तुलित छ । आत्मविश्वास पनि बढी छ । त्यही भएर जित आफ्नो पक्षमा आउनेछ ।’ 
 
भारतको रेकर्ड भङ्ग गरी नेपालले उपाधि जितेर इतिहास रच्ने तयारीको साथ मैदानमा खेलाडीहरू उत्रिने उनको भनाइ छ । ‘विराटनगरमा आउने दर्शकले नेपाली खेलाडीलाई अझ बढी आत्मविश्वास बढाएको छ । दर्शकबाट कहिलेकाही आउने हुटिङबाट केही हतोत्साहित हुन सक्छन् तर त्यसलाई ह्याण्डल गर्न मैले सिकाइसकेको छु,’ उनले भने ।  
 
उपाधि जित्न कडा मेहनत गर्नेछौ : कप्तान निरु थापा 
नेपाली कप्तान निरु थापाले उपाधि जित्नका लागि कडा मिहनत गर्ने बताइन् । भारतसँग हुने फाइनल खेल जसरी पनि उपाधि जित्ने तयारीका साथ मैदानमा उत्रिने बताइन् । 
 
उपाधि जित्छौ : भारतीय प्रशिक्षक 
भरतीय महिला टिमकी प्रशिक्षक मेमोल नेडुगण्डन रकीले  उपाधि जित्नेमा विश्वस्त रहेको बताइन् । उनले पत्रकार सम्मेलनमा भारतीय टिम उपाधि जित्न आत्मविश्वासी भए पनि राम्रो खेल्ने टिमको पक्षमा जाने बताइन् । फाइनलका लागि उत्साहित भएको पनि उनको भनाइ छ । नेपालको घरेलु मैदानमा खेल्दा कुनै दबाव नभएको पनि उनको भनाइ छ ।