विराटनगर । भारत पाँचौं पटक साफ वुमेन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित शहीद रङ्गशालामा शुक्रबार समापन भएको फाइनल खेलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले लगातार पाँचौं पटकको उपाधि जितेको हो । चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

घरेलु दर्शकको भरपूर साथ पाएको नेपालले शुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । पहिलो हाफसम्म बराबरी खेलेको नेपालमाथि दोस्रो हाफमा भारत हाबी देखियो । निकै रोमाञ्चक एवम् प्रतिस्पर्धात्मक खेलको २६ औं मिनेटमा भारतले पहिले अग्रता लियो । भारतकी डिफेण्डर डालिमा छिब्बरले करिब ३० यार्डबाट प्रहार गरेको फ्रिकिकमा गोल गरिन् । हीराकुमारी भुलेजले फल गरेपछि प्राप्त फ्रिकिकमा डालिमाले गोल गरेकी हुन् ।

भारतले अग्रता कायम गरेको ८ मिनेट बित्न नपाउँदै नेपालले खेल बराबरीमा ल्यायो । नेपालकी फरवर्ड सावित्रा भण्डारीले खेलको ३३ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन् । डिफेण्डर गीता रानाले मध्यभागबाट दिएकोे बलमा सावित्रा भण्डारीले डी–बक्सभित्रबाट हेडमार्फत् गोल गरी खेल बराबरीमा ल्याएकी हुन् ।

पहिलो हाफमा सावित्रा भण्डारीले पाएका तीनवटा अवसर खेल फालिन् । खेलको १९ मिनेटमा सावित्राले डिफेण्डरलाई छक्याउँदै लगेर डी–बक्सभित्रबाटकोे कडा प्रहार बाहिरियो । लगत्तै उनले हानेको प्रहारले पनि गोलपोष्टको दिशा लिन सकेन । खेलको १३ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनको प्रहार पनि भारतकी गोलरक्षकले उत्कृष्ट बचाउ गरिन् । ४५ मिनेटमा नेपालले अग्रता लिने अर्को मौका गुमायो । सावित्रा भण्डारीको पहिलो प्रहार भारतकी गोलरक्षकको हातमा लागेर फर्कियो । रिबाउण्डमा उनको प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।

भारतले दोस्रो हाफबाट अग्रता कायम गर्यो । नेपालकी गोलरक्षक अञ्जली सुब्बा र डिफेण्डर अगाडि बढ्दा भारतले ६२ मिनेटमा दोब्बर गोल बनाई अग्रता लियो । भारतकी ग्रेस दाङ्मेले ओपन पोष्टमा सहज गोल गरेकी थिइन् । गोलरक्षक र डिफेण्डर अघि बढेको मौकाको उनले सदुपयोग गरेकी थिइन् ।
खेलको ७८ मिनेटमा भारतकी अञ्जु तामाङले तेस्रो गोल गरेकी थिइन् । उनले डी–बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत हुँदै टिमको जित सुनिश्चित गरिन् । ८३ औं मिनेटमा नेपालले गोल गर्ने मौका गुमाएको थियो ।

सावित्राको प्रहार भारतकी गोलरक्षक अदिती चौहानले रोेकेकी थिइन् । पहिलो हाफमा आक्रामक रूपमा मैदानमा उत्रिएको नेपालले दोस्रो हाफमा फितलो प्रदर्शन गर्दा भारत हाबी भयो ।

खेलको हाईस्कोरर भारतकी इन्तुमती खातिरिहान र नेपालकी सावित्रा भण्डारी घोषित भइन् । उनीहरूले ४–४ गोल गरेका थिए । उत्कृष्ट खेलाडी भारतकी डालीमा छिपर भइन् भने अनुशासित टिम बङ्गालदेश भयो ।

नेपालको घरेलु भूमिमा भएको योसँगै भारतले लगातार पाँचौं उपाधि जितेको छ । नेपाल भने लगातार चारपटक फाइनलमा पुगेर उपाधिविहीन बनेको छ । शुरुवाती तीन संस्करणमा नेपाललाई फाइनलमा भारतले हराएको थियो । अघिल्लो संस्करणमा भने नेपाललाई सेमिफाइनलमा भारतले पराजित गरेको हो ।

सानो गल्तीले पराजय भोग्नुपर्यो : प्रशिक्षक खड्का
राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले फाइनलमा भारतसँगको पराजयको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । फाइनल खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले प्रशिक्षकको हिसाबले नेपालको पराजयको जिम्मेवारी आफ्नो हुने बताएका हुन् ।

‘सम्पूर्ण फुटलबप्रेमीसँग म माफी माग्छु । पराजयको सम्पूर्ण जिम्मेवारी आफू लिन्छु’ उनले भने, ‘खेलाडीले मेहनतका साथ खेले । खेलाडीले आफ्नो यही गतिलाई कायम राख्न आवश्यक छ ।’ साना–साना गल्तीले भारतीय टिमविरुद्धको खेल गुमाउनुपरेको उल्लेख गर्र्दै प्रशिक्षक खड्काले दोस्रो गोल नै खेलको ‘टर्निङ पोइन्ट’ भएको उल्लेख गरे ।

‘बललाई पास गरिदिएको भए, त्यो बल पोष्टसम्म पुग्ने थिएन’ उनले भने, ‘डिफेण्डरको सानो गल्तीले गोल खान पुगियो । त्यही नै खेलको टर्निङ पोइन्ट बन्न पुग्यो ।’ प्रशिक्षक खड्काले महिला फुटबलमा अब लगानी गर्ने समय आएको उल्लेख गरे ।

‘नयाँ नेतृत्वले महिलाका लागि कार्यक्रम बनाएको छ । अब खेलाडीले नियमित खेल्ने वातावरण दिन आवश्यक छ’ –उनले भने । यता भारतीय टिमकी प्रशिक्षक मायामोल रक्कीले आफ्नो टिम जितका लागि लायक भएको प्रतिक्रिया दिइन् । ‘खेल निकै रोमाञ्चक रह्यो’ उनले भनिन्, ‘जसरी युवा खेलाडीले मैदानमा खेले । हामी जितका लागि लायक थियौं ।’

सावित्रा सर्वाधिक गोलकर्ता
पाँचौं महिला साफमा ४ गोल गरेकी सावित्राले नेपालको लागि कुल २६ अन्तर्राष्ट्रिय गोल गर्दै सार्वाधिक गोल गर्ने खेलाडीमा आफूलाई उभ्याएकी छिन् ।
सावित्राले पूर्व कप्तान जमुना गुरुङलाई पछि पार्दै सार्वाधिक गोल गर्ने नेपालको दोस्रो खेलाडी बनेकी हुन् । जमुनाले नेपालको लागि २५ गोल गरेकी थिइन् । नेपालको लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान पूर्व कप्तान अनु लामाको नाममा रहेको छ ।

अनुले ३५ अन्तर्राष्ट्रिय गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् । २७ वर्षकी सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानसँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् । विराटनगरमा साफअघि स्ट्राइकर सावित्राले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा आफूलाई उभ्याउने चाहना भएको बताएकी थिइन् ।

नेपाली खेलाडीले जनही १ लाख पाउने
पाँचौं साफ महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टिमका प्रत्येक खेलाडीलाई जनही १ लाख रुपैयाँ पाउने भएका छन् । १ नम्बर प्रदेश सरकारले पाँचौं साफ महिला फुटबलको उपाधि जितेमा प्रत्येक खेलाडीलाई जनही दुईलाख र उपविजेता बनेमा जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । शुक्रबार भएको फाइनल खेलमा भारतले ३–१ गोलले पराजित गर्दै नेपाल उपविजेता बन्यो । उपविजेता बनेसँगै नेपाली खेलाडीहरूले जनही १ लाख रुपैयाँ पाउने भएका हुन् ।