पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१ स्थित प्रस्तावित ‘पथरी रङ्गशाला’ मा माटो पुर्ने र घाँसे मैदान तयार गर्न काम अघि बढेको छ ।
राष्ट्रिय खेलकुद परिषदले प्रदान गरेको १० लाख रुपैयाँबाट नगर खेलकुद विकास समितिमार्फत् खेल मैदानमा माटो पुर्ने, पश्चिमतर्फ भत्किएको पर्खाल निर्माण, पोल निर्माणसहितको काम सकिएपछि घाँस रोप्ने काम थालिएको हो । नगरको वडा नम्बर २ मा अवस्थित उचित जैविक उद्योग प्रालि शाखा कार्यालयको सहयोगमा घाँसे झार रोप्ने काम थालिएको नगर खेलकुद विकास समिति सदस्य नवीनजङ्ग कार्कीले जनाए ।
१ नम्बर वडाध्यक्ष बाबुराम एङ्देनको प्रमुख आतिथ्यतामा बिहीबार उजित जैविक उद्योग व्यववस्थापन प्राविधिक कृष्णचन्द्र महर्जन, सहव्यवस्थापक अशोक राई, खेलकुद विकास समितिका पदाधिकारीको सहभागितामा झार रोप्ने काम थालिएको छ । ३ महिनासम्म मानिस तथा अन्य जनावार पस्न नदिई झार हुर्काएपछि मात्र खेल सञ्चालन गर्न दिइने नगर खेलकुद विकास समितिका सचिव नैना साम्पाङले बताए । खेलकुद विकास समितिले यसअघि सञ्चालन भएर रोकिएको पथरी गोल्डकप प्रतियोगितासमेत शुरु गर्न योजना बनाएको छ ।