दुहबी/ विभागीय टिम त्रिभुवन आर्मी क्लबले मनमोहन दुहबी गोल्ड कपमा विजयी शुरुवात गरेको छ ।
सुनसरीको दुहबी रङ्गशालामा शनिबार भएको उद्घाटन खेलमा आर्मीले चर्चबोइज क्लब काठमाडौंलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकीले ह्याट्रिक गरे ।
भरत खवास र सन्तोष तामाङले एक एकगोल गरे । पहिलो हाफमा २–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । आइतबारको खेल नेपाल पुलिस क्लब र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा बीच हुनेछ । एलेभन एरोज क्लब दुहबी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा शुरु गोल्डकप चैत्र २३ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा विजेताले ६ लाख नगद र उपविजेताले नगद ३ लाख पुरस्कार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार, सर्वाधिक गोलकर्ताले २० हजार, खेलको उत्कृष्ट खेलाडीले सामसुङको ४२ इञ्च एलइडी टिभी, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी क्लब काडमाडौं, चर्च बोइज युनाइटेड काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको रोयल क्लब वेस्ट बङ्गाल, क्यामरुनको दाफिन्स फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल झापा, थ्रीस्टार क्लब काडमाडौं र आयोजक एलेभन एरोज क्लब दुहबीले प्रतिस्पर्धा गर्नेछन् ।