धनकुटा/ नवौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप र दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक विजेता धनकुटाका लोकेन्द्र राईसहित चार जनालाई धनकुटा नगरपालिकाले सोमबार सम्मानसहित पुरस्कृत गरेको छ ।

भारतको लखनउमा २७ र २८ डिसेम्बर २०१८ मा सञ्चालित नवौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप र बङ्गलादेशको झिकरगछामा १५ र १६ मार्च २०१९ मा सञ्चालित दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप प्रतियोगितामा धनकुटा नगरपालिका–७ का लोकेन्द्र राईले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै ६७ केजी समूहमा स्वर्ण पदक हात पारेका थिए ।

उनलाई धनकुटा नगरपालिकाले नगद १५ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरेको छ । त्यस्तै तेस्रो दक्षिण एसियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक विजेता धनकुटा नगरपालिका–७ की सिर्जना थापालाई पनि धनकुटा नगरपालिकाले नगद १५ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरेको छ ।

थापाले भारतको गुवाहिटीमा १९ र २० जनवरी २०१९ मा सञ्चालित तेस्रो दक्षिण एसियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । सोही प्रतियोगितामा रजत पदक विजेता धनकुटा नगरपालिका–७ की सुदीक्षा श्रेष्ठलाई नगद १० हजार र सम्मान–पत्रसहित नगरपालिकाले सम्मान गरेको छ ।

सो अवसरमा धनकुटा नगरपालिकाले खेलको माध्यमद्वारा धनकुटासहित नेपाललाई चिनाउन सफल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कराँते प्रशिक्षक तथा धनकुटा कराँते सङ्घका अध्यक्ष डिप्लप राईलाई पनि नगदसहित सम्मान गरेको छ । खेलाडीहरूलाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उपमेयर शकुन्तला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरलगायतले सम्मान–पत्रसहित नगद हस्तान्तरण गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै स्वर्ण पदक विजेता लोकेन्द्र राईले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सहज नभएको उल्लेख गर्दै अथक प्रयास र मिहिनेतका कारण स्वर्ण पदक जित्न सफल भएको बताए ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले स्वर्ण पदक विजेतालाई बधाई ज्ञापन गर्दै खेलाडीको विकासका लागि नगरपालिकाले खेलको कुनै एउटा विधामा खेलाडी कोष खडा गरेर अगाडि बढ्ने बताए ।