वराहक्षेत्र/ प्राचीन हरिद्वार चतराधाममा चैत्र २३ गतेबाट आयोजना हुनलागेको दोस्रो पिण्डेश्वर अर्धकुम्भमेलामा राखिने बजारका स्टल बिचौलियाहरूले मनोमानी ढङ्गमा बिक्री गरिरहेको व्यापारीहरूले गुनासो गरेका छन् ।

आयोजक समितिले ५ देखि ७ हजार ५ सयसम्म भाडा तोकेका स्टलहरू ६ गुणासम्म बढीमा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् । मेलामा व्यापार गर्ने तयार गरेका एक होटल व्यवसायीले ३० हजारमा स्टल पाएको बताए । मेलाका लागि भनेर एकै जनाले ५ वटासम्म स्टल लिएर अरुलाई महँगोमा बेच्ने गरेको पाइएको छ ।

कुम्भमेला व्यवस्थापन समितिका महासचिव प्रह्लाद भट्टराईले बजारमा आफूखुशी स्टल किनबेच भएको जानकारी आएको र त्यसको सूचना कुम्भमेला सह– संयोजक वराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाललाई दिइएको बताए ।

उता कुम्भमेला बजार व्यवस्थापन उपसमितिकी संयोजक सुशीला शेर्पा भने समितिले पारदर्शी रूपमा प्रतिफुट ५ सयको दरले, ७ र १५ फिटका दुई श्रेणीमा मात्र स्टलहरू बिक्री गरिएको बताइन् । उनले बिचौलियाले महँगोमा बिक्री गरेको कुरा हल्ला मात्र भएको दाबी गरिन् । उनले मूल समितिकै केही व्यक्ति बजार व्यवस्थापन समितिलाई बदनाम गर्न लागिपरेको आरोप लगाइन् ।