ताप्लेजुङ/ ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित ताप्लेजुङमा चैत्र ३० गतेदेखि ‘ताप्लेजुङ रन’ हुने भएको छ ।
नयाँ वर्षको शुरुवातसँगै स्वस्थ जीवनयापनका लागि चेतना फैलाउने उद्देश्यले दौडको आयोजना गर्न लागिएको ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले जानकारी दिए । ‘प्रत्येक शनिबार बिहान ७ः३० बजे फुङ्लिङ बजारको वीरेन्द्र चौकबाट दौड शुरु हुन्छ’ बुधबार आयोजित पत्रकार सम्मेलनमा खवासले भने, ‘त्यहाँबाट तोक्मे–हेलिप्याड–पराजुलीचौक हुँदै पुनः वीरेन्द्र चौकमा पुगेर सम्पन्न हुन्छ ।’
दौडमा बालबालिकादेखि वृद्धसम्म सबैले भाग लिन पाउने खवासले बताए । स्वास्थ्य परीक्षण गरेर प्रवेश पनि निःशुल्क गरिएको छ । ‘यसमा स्वतःस्फूर्त रूपमा दौडिने हो, शुरुमा कुनै प्रतिस्पर्धा हुँदैन’ अध्यक्ष खवास भन्छन्, ‘निश्चित अवधिपछि संस्थाले दौडमा भएको सुधार हेरेर सम्मान गर्छ ।’ यस्तो प्रकारको दौडको शुरुवात नेपालमा धरानबाट भएको हो ।
अहिले दमक, भोजपुर र पोखरामा समेत विस्तार भएको पत्रकार सम्मेलनमा आएका धरान रनका अध्यक्ष रमन राईले बताए । ताप्लेजुङ रन वेलायती सेनामा कार्यरत फुङ्लिङ नगरपालिकाका दीपेन्द्र गुरुङको परिकल्पनामा ताप्लेजुङमा गर्न लागिएको हो । गुरुङका अनुसार वेलायतमा ‘पार्क रन’ को नाममा यो दौड हुने गरेको छ । वेलायतीहरू आफू निरोगी तथा स्वस्थ रहन आइतबार सामूहिकरूपमा पार्क रन कार्यक्रममा दौडने गरेको गुरुङले बताए ।