इटहरी । सुनसरीको दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकपको फाइनल भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाडौं र डाफिन्स क्लब क्यामरुन शनिबार प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमको उपाधिमाथि आ–आफ्नै दाबी छ ।

आर्मीले यो वर्ष ठूला प्रतियोगितामध्ये इटहरी गोल्डकप, झापा गोल्डकप र आहा रारा गोल्डकपसँगै ८ वटा गोल्डकपको उपाधि चुमिसकेको छ । दुहबी गोल्डकप पनि उठाउने दाउमा रहेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए । कप्तान भरत खवासले यसअघि झापा गोल्डकप र आहा रारा गोल्डकपमा डाफिन्सलाई पराजित गरिसकेकाले शनिबारको फाइनल जित्नेमा ढुक्क रहेको दाबी गरे ।

अन्तिम सेमिफाइनलमा मेची नेत्रालय काँकड्भिट्टामाथि ३–० को शानदार जित निकाल्दै उपाधिनजिक पुगेको डाफिन्सका टिम मेनेजर आशिक थापा मगरले शारीरिक रूपमा बलिया खेलाडी रहेकाले पनि आफूहरू फाइनल जित्नेमा ढुक्क रहेको बताए । पहिलो खेलमा चर्च ब्वाइजलाई र सेमीफाइनलमा थ्रीस्टार क्लबलाई पराजित गरेको आर्मीले अहिलेसम्म कुनै गोल खाएको छैन ।

चार महिनाको अवधिमा चार वटा ट्रफी जितेको डाफिन्स र आर्मीबीच कडा प्रतिस्पर्धा हुने थापामगर बताउँछन् ।

डाफिन्सले पूर्वका गोल्डकप बुढासुब्बा, माई भ्याली र पश्चिमका मनकामना केबलकार गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । ‘दुहबी गोल्डकपको उपाधि पनि हामी जित्ने छौं’ –थापा मगरले दाबी गरे । प्रतियोगितामा विजेता टिमले नगद ६ लाख र उपविजेता टिमले नगद ३ लाख पुरस्कार पाउनेछ । एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित गोल्डकपमा दुई विदेशीसहित ८ टिम सहभागी थिए ।