वराहक्षेत्र । वराहक्षेत्रस्थित माउण्ट एभरेष्ट स्र्पोटिङ क्लबले तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।
गत कात्तिकमा सञ्चालन गरिएको प्रतियोगिताको आय–व्यय प्रस्तुत गर्दै बुधबार खेल संयोजक टेकमाया पाण्डेले प्रतियोगितामा ५ लाख १६ हजार ३ सय ३ रुपैयाँ आम्दानी र खर्च भएको वासलात् प्रस्तुत गरिन् ।
कार्यक्रममा बोल्दै माउण्ट एभरेष्टका अध्यक्ष सूर्य तुम्बाहाम्फेले स्थानीय स्तरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय महिला फुटबलको आयोजना हुनु चुनौतीपूर्ण भएको भन्दै प्रतियोगिता अघि आर्थिक सहयोग कबोल गरेकाहरूले सहयोग नगरेको बताए ।
उनले महिला फुटबलको क्षेत्रमा अन्तर्राष्ट्रिय खेलाडी वराहक्षेत्रबाट उत्पादन गरे पनि तर अपेक्षित सहयोग नपाएको गुनासो गरे ।
‘जहाँबाट आर्थिक सहयोग आउने भनिएको थियो, त्यहाँबाट अहिलेसम्म सहयोग आएन, त्यसैले पनि आय–व्यय सार्वजनिक गर्न ढिलो भयो,’ तुम्बाहाम्फेले भने, ‘आशा गरिएका जनप्रतिनिधि र सङ्घ–संस्थाले सहयोग गरेनन् ।’
गत कात्तिक २६ गतेदेखि मङ्सिर २ गतेसम्म चतरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी ६ टिम सहभागी भएका थिए ।