इटहरी/ इटहरीमा आइतबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा इटहरी उपमहानगरपालिकाको रातो टिमले विजयी सुरुवात गरेको छ । इटहरी रातोले दुहबी नगरपालिकालाई ५५ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको इटहरीले निर्धारित १६ ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । जवाफी मैदानमा उत्रिएको दुहबीले ११ ओभर ४ बल अलआउट हुँदै ६३ रनमा समेटियो । खेलको म्यान अफ दी म्याच इटहरीका भुपाल लुइँटेल घोषित भए । आइतबार नै सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरले इटहरी हरियोलाई १० रनले पराजित गरेको छ ।

सोमबार बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुने आयोजकले जनाएको छ । यस्तै बिर्तामोड नगरपालिका र इनरुवा नगरपालिकाबीच दोस्रो खेल हुने छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा शुरु भएको प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी छन् । विजेता टिमले नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाउने छ ।