पाँचथर/ फिदिममा जारी तेस्रो वाइवाइ पाँचथर गोल्डकपको क्वार्टरफाइनल खेलबाट डिफेण्डिङ च्याम्पियन झापाको बिर्तामोड युनाइटेड क्लब बाहिरिएको छ ।

फिदिम माविको खेलमैदानमा मङ्गलबार भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइन खेलमा भारतको दार्जिलिङ युनाइटेड क्लबसँग ३–२ गोलअन्तरको हार ब्यहोर्दै बिर्तामोड युनाइटेड घर फर्किंदा दार्जिलिङले सेमिफाइनलको यात्रा तय गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दार्जिलिङले उपहार स्वरुप पाएको गोलमार्फत् अग्रता लिएको थियो । १९ औं मिनेटमा सत्यम् शर्माको कर्नर किकलाई क्लियर गर्ने क्रममा डिफेण्डर दिलेन लोक्तामबाट बल फुत्किएको थियो । खेलको २७ औं मिनेटमा करन राईले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–० ले पछि परेको बिर्तामोड युनाइटेडले दोस्रो हाफमा आक्रमक खेल पस्केको थियो । ८० औं मिनेटमा दिलेन लोक्तामले गोल गर्दै अग्रता घटाएका थिए । निर्धारित समयको अन्तिम मिनेटमा विशाल राईले डी–एरियाभित्रबाट गरेको प्रहारले जाली चुम्दा खेल रोमाञ्चक बनेको थियो । तर २–२ बराबरीको अवस्थालाई उल्टाउँदै खेलको अतिरिक्त समयमा करण राईले व्यक्तिगत दोस्रो गोल गर्दा बिर्तामोड युनाइटेड ३–२ गोलअन्तरले स्तब्ध बन्दै घर फर्किनु पर्यो ।

खेलको म्यान अफ द म्यान दार्जिलिङ युनाइटेडका करण राई घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । दार्जिलिङले अब फाइनल प्रवेशका लागि २८ चैतमा हुने काठमाडौंको हिमालयन शेर्पा क्लब र सुनसरीको न्युस्टार क्लबसँगको विजेताको सामना गर्नुपर्नेछ । प्रतियोगिताअन्तर्गत आज (बुधबार) ललितपुरको जावलाखेल युथ क्लब र मकवानपुरको विजय युथ क्लब हेटौंडाबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले बताए ।