पोखरा/ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।
भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने बताउँदै उनले पर्यटनलाई उत्पादनसँग जोड्नु अपरिहार्य भएको उल्लेख गरे । मुलुकमा आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशले सङ्घीय कार्यक्रमलाई सफल बनाउनका लागि २०१९ लाई आन्तरिक भ्रमण वर्ष र २०२० लाई छिमेकी पर्यटन वर्षको रुपमा अगाडि बढाएको जानकारी दिए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रदेश मन्त्रिपरिषद्ले सङ्घीय सरकारलाई सिफारिश गरेको बताए ।
गण्डकी प्रदेश सरकारले ११० नयाँ पर्यटकीय गन्तव्यको विकासमा जोड दिएको उल्लेख गर्दै उहाँले ग्रामीण क्षेत्रमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ ३०० घरबासको व्यवस्थापनमा जुटेको जानकारी दिए ।
संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आगामी जेठ महीनासम्ममा लुम्बिनीस्थित गौतमबुद्ध विमानस्थल सम्पन्न भई सञ्चालनमा आउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको समयअगावै सम्पन्न हुने र निजगढ विमानस्थल निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।
सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको बताउँदै उनले पर्यटनको क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रलाई स्वावलम्वन बनाउँदै स्वदेशमा १० लाख रोजगार सिर्जना गर्ने लक्ष्य रहेको छ ।
संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक पवित्रा निरौला खरेलले भ्रमण वर्ष समृद्ध नेपाल सुखी नेपाली अभियानको सहयोगी बन्ने विश्वास व्यक्त गरे। नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले मुलुकमा पर्यटन प्रवद्र्धनका लागि साना तथा ठूलो निजी क्षेत्रलाई समेटेर अगाडि बढने बताउँदै भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रका सहयोग आवश्यक रहेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बसी भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारी गरिएको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले जानकारी दिए ।
कार्यक्रममा संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारी, नेपाल भ्रमण वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले भ्रमण वर्षको लक्ष्य प्राप्तिका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।