भद्रपुर/ झापामै पहिलो पटक भद्रपुरमा आयोजित भद्रपुर रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि कन्काई फुटबलले हात पारेको छ । कन्काईले नगद एकलाख पुरस्कार र शिल्ड हातपार्यो भने उपविजेता खोपबाडीले ५० हजार नगद पाएको थियो ।
न्यु स्टार क्लब खोपबाडीविरुद्ध १–० को जित निकाल्दै कन्काईले उपाधि हात पारेको थियो । भद्रपुर माविको खेलमैदानमा शुक्रबार राति सम्पन्न फाइनल खेल प्रतियोगिता प्रतिस्पर्धात्मक भएको थियो । पहिलो हाफको २२ औं मिनेटमा कन्काईले गोल गर्दै अग्रता लिएको थियो । कन्काईका जर्सी नम्बर १० का रोहन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । कार्कीकै गोल टिमका लागि निर्णायक सावित भयो । विजेता टिमका गोलकर्ता रोहन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनलाई ट्रफी प्रदान गरिएको थियो ।
फाइनल खेल सम्पन्न भएसँगै समापन समारोहका प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा नं. २ का वडाध्यक्ष भीम सुब्बा, वडा नं. ३ की वडाध्यक्ष कमला थुलुङ, वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले विजेता तथा उपविजेता टिमलाई शिल्ड र प्रमाण–पत्र वितरण गरेका थिए । पहिलो र दोस्रो पुरस्कार भद्रपुर नगरपालिकाले व्यवस्था गरेको थियो ।
सहयोगी सङ्घ–संस्था र प्रतिष्ठानहरूलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको समापन समारोहकै अवसरमा भद्रपुर नगरपालिकाको तर्फबाट आयोजक समितिका अध्यक्ष दिलीप भूइँमालीलाई विशेष सम्मान गरिएको थियो । पूर्व उत्कृष्ट फुटबल खेलाडी भूइँमालीले आफूले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् । आफूले सन्यास लिए पनि फुटबल खेलको विकास र सम्बद्र्धनमा आफू सधैँ सक्रिय रहने उनले बताए ।