ताप्लेजुङ/ तेस्रो थेचम्बु याङ्वरक अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल गुरुङले जितेका छन् । सिक्किमका गुरुङले पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुमा आयोजना गरिएको प्रतियोगितामा नेपालका पूर्व च्याम्पियन सुरवीर लामालाई पछि पार्दै राहुलले उपाधि हात पारेका हुन् । प्रथम बनेका राहुलले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जितेका छन् ।
यस्तै पूर्व नेपाल च्याम्पियन सुरवीर लामाले उपविजेता बन्दै ३५ हजारमा चित्त बुझाएका छन् । प्रतियोगितामा झापाका प्रकाश नेपालले तेस्रो स्थान ओगटेका छन् । नेपालले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेता र उपविजेताको प्राप्ताङ्क भने समान सात रहेको थियो । यस्तै महिलातर्फको उपाधि भने नेपाल च्याम्पियन सुजना लोहनीले जितेकी छन् । झापाकी खुस्बु थापा द्वितीय र विनिता कपाली तृतीय भएको आयोजकले जनाएको छ । भेट्रानमा धनुषाका रामसुरत शाह प्रथम, हेराकाजी महर्जन द्वितीय र ताप्लेजुङका जीवन मादेन तृतीय भए ।
प्रदेश नं. १ स्तरको खेलमा दमक झापाका विक्रम सिङ्घक प्रथम, झापा बिर्तामोडका ज्वाला लिम्बू द्वितीय र काँकडभिट्टाका विश्वविजय घिमिरेले तृतीय स्थान ओगटेका छन् । ताप्लेजुङ जिल्लातर्फ भने प्रथम, द्वितीय र तृतीय क्रमशः राजकुमार गुरुङ, रमेश थेबे र हरिकुमार गुरुङ तथा पाथीभरा याङ्वरक गाउँपालिका प्रथम राजकुमार मेन्याङ्बो, द्वितीय किशोर मेन्याङ्बो र तृतीय सरोज मेन्याङ्बो भए । बेस्ट अनरेटेडतर्फ दमन सापकोटा प्रथम, नरेशकुमार लिङ्देन द्वितीय र प्रशान्त नेपाल तृतीय भएका छन् । गत वैशाख ९ गते शुरु भएको प्रतियोगितामा भारतको सिक्किम, उत्तर र मध्य प्रदेशसहित नेपालका विभिन्न जिल्लाबाट १ सय ४ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेतालाई पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङलगायतले पुरस्कार वितरण गरेको ताप्लेजुङ बुद्धिचाल सङ्घका उपाध्यक्ष राजकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार खुल्लातर्फ १३ औं स्थानसम्म ल्याउनेलाई पुरस्कृत गरिएको थियो ।