काँकडभिट्टा/ रुस्लान थ्रीस्टार क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार काँकडभिट्टा माविको खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा माईभ्याली फुटबल क्लब इलामलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले सेमीफाइनलको यात्रा तय गरेको हो । 
 
जितका लागि थ्रीस्टारका डिफेन्स अनन्त तामाङले खेलको ४१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । सुशील राईको क्रसपासमा तामाङले माईभ्यालीका गोलरक्षक सोजित गुरुङ बिट भएको अवस्थामा प्रहार गरेको बलले गोलपोष्टको दायाँ बार हुँदै जाली चुमेको थियो । खेलको १७ औँ मिनेटमा माईभ्यालीका राजीव लोप्चनको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो । ३० औँ मिनेटमा कप्तान मनिष थापाको क्रसमा टु भर्सेस वानको अवस्थामा लोप्चनले पोष्टको दिशा दिन सकेनन् । ३४ औँ मिनेटमा सुशील यादवको क्रसमा लोप्चनले अर्काे मौकालाई खेर फाले । 
 
४५ औँ मिनेटमा थ्रीस्टारका कप्तानलाई फाउल हानेपछि माईभ्यालीका कप्तान मनिष थापाले पहेँलो कार्ड पाए । खेलको २२ औँ मिनेटमा थ्रीस्टारका सुनिल बलको क्रसमा एलोन म्याक्सवेलको प्रहार आकासियो ।  पहिलो हाफभरि म्याईभ्यालीले थ्रीस्टारलाई पूर्णरूपमा दबावमा राख्यो । अधिकांश पोष्ट केन्द्रित आक्रमण गरे पनि स्कोर गर्न सकेन । खेलको दोस्रो हाफको पहिलो मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी एलोन म्याक्सवेलको प्रहारले पनि जाली चुम्न सकेन ।
 
आठौँ मिनेटमा मनसा वेभागुइको प्रहार पनि पोष्ट माथिबाट बाहिरियो । खेलको २९ औँ मिनेटमा थ्रीस्टारका रुपेश केसीको क्रसमा सुशील राईको हेडरले समेत पोष्टको गन्तव्य पूरा गर्न सकेन । दोस्रो हाफमा लयमा फर्किएको थ्रीस्टारले अन्ततः सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच थ्रीस्टारका सुशील राई भए । उनले नगद ११ हजार रुपैयाँ मेचीनगर नगरपालिका वडानम्बर ४ का वडाअध्यक्ष नवीन बरालले पुरस्कार प्रदान गरेका थिए । 
 
बुधबारको पहिलो सेमीफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सीएमजी सङ्कटाको सामना गर्नेछ । पुलिस पारो एफसीमाथि ३–० को सहज जित निकाल्दै सेमीफाइनल पुगेको थियो । यता सङ्कटाले आयोजक मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेण्टरलाई ४–१ को गोलअन्तरले हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको थियो । २१ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख १ हजार तथा उपविजेता टिमले नगद ५ लाख १ हजार पाउने आयोजक क्लबका कोषाध्यक्ष नोर्वु शेर्पाले बताए ।