नाच्दै गाउने शैली । मन्त्रमुग्ध बनाउने स्वर । यस्तै विशेषता बोकेका नेपालका बाल गायक हुन्, प्रितम आचार्य । उनी भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रसारित गायन रियालिटी शोे ‘सारेगमप लिटिल च्याम्प्स’ मा सकेण्ड रनरअप भए । उनको गायनले नेपाली दर्शकको मात्र मन छोएन, बलिउडका चर्चित गायक एवम् कलाकारले समेत उच्च प्रशंसा गरे । स्टेजमा पुगेपछि माइक हातमा लिएर गाउँदै, नाच्दै स्टेज कब्जामा लिएर सहभागीलाई आफूमा केन्द्रित बनाउन सक्ने उनको क्षमता हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का प्रितमले अडिसनदेखि नै जजहरूलाई प्रभावित पारेका थिए । कक्षा–७ मा अध्यययनरत प्रितम २०६५ जेठ १० गते बुबा काशीनाथ र आमा राधिका आचार्यको कोखबाट जन्मिएका हुन् । उनले पाँच वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।
‘सारेगमप लिटिल च्याम्प्स’ मा सेकेण्ड रनरअप भएर घर फर्किएका प्रितमलाई काँकडभिट्टादेखि गृहनगर इटहरीसम्म उनका आफन्त, साथी र शुभचिन्तकले भव्य स्वागत गरे । उनलाई बाजा बजाएरै स्वागत गरिएको थियो । प्रितमलाई इटहरी उपमहानगरपालिकाले ‘बाल गायक सद्भावना दूत’ का रूपमा नियुक्त गरेको छ ।
ब्लाष्टकर्मीसँगको कुराकानीमा प्रितमले आफ्नो सानैदेखिको सङ्गीतप्रतिको रूचि भएको बताए । ‘मलाई बाबाले भन्नुभएको म सानोमा रूँदा मलाई बाबा, ममीले धेरै वस्तुहरू दिएर फकाउने प्रयत्न गर्नुहुन्थो रे, म रुन छोड्दिनथे रे तर मलाई मोबाइलमा गीत बजाइदिए तत्काल म रून छोड्थेँ रे, अहिले पनि मलाई मेरो बाबाले भन्ने गर्नुहुन्छ, यस्ता गतिविधिले पनि मलाई सङ्गीतप्रतिको मोह सानैदेखि जगाएको थियो’ –उनले भने ।

‘सारेगमप लिटिल च्याम्प्स’ मा तेस्रो भएको नाम मञ्चबाट घोषणा हुँदा खुशीको आँसु झरेको उनले बताए । ‘खुशीले हर्षको आँसु झर्यो’ उनले भने, ‘मेरो कडा मेहनत, सबैले साथ सहयोग र हौसला दिएका कारण यो सफलता मिलेको हो ।’ सबैले आफूप्रति सहानुभूति सहानुभूति देखाएकोमा धेरै खुशी लागेको उनले बताए । ‘म र मेरो साथी आयुष केसीले नेपालको नाम राख्न सक्यौं, आज म निक्कै खुशी छु, आउँदो दिनमा पनि यसरी नै माया गरिदिनुहोला, यो ठाउँमा पु¥याउन मेरो सङ्गीतको गुरू राजु केसी, मेरो अभिभावक र मलाई सङ्गीतको क्षेत्रमा अगाडि बढाउन सपोर्ट गर्नुहुने सम्पूर्ण फ्यानलाई यो जित र सफलताको श्रेय दिन चाहन्छु’ –उनले भने ।
राम्रो गीत गाउँदा प्रितमले दुई पटक अवार्ड पाए । फाइनलमा गायक मोहम्मद रफीको ‘एन इभनिङ इन पेरिस.., गीत प्रस्तुत गरेर सारेगमपको सेकेण्ड रनरअप भए । ‘दिन–रात म अभ्यासमा नै तल्लीन हुन्थेँ, कुन स्टाइलले गाउँदा निर्णायकलाई मन्त्रमुग्ध पार्न सकिन्छ भन्ने सोच विचार भएर लयबद्ध तरिकाले गाउँथेँ’ उनले भने, ‘गीत गाउनुभन्दा पहिले म गीतको भिडियो हेरेर अभ्यास गर्दछु, कलाकारहरूले उक्त गीतको भिडियोमा कस्तो अभिनय गरेका हुन्छन्, म त्यस गीतका नृत्य गर्ने कलाकाहरूको अभिनय ध्यानपूर्वक हेर्थें, त्यसलाई म गम्भीर रूपमा हेर्ने गर्छु र अभ्यास पटक–पटक गर्ने प्रयत्न गरेको छु, गीतको अभ्यास भएपछि त्यही भिडियोको आधारमा गीतहरू गाउँदै नाच्ने गर्दछु, जसले गर्दा स्टेज आफ्नो कब्जामा पार्न सकिने र सबैको ध्यान आफूतिर केन्द्रित गर्न सकिन्छ ।’
प्रितमले दुई पटक ‘पर्फर्मेन्स अफ द विक’ पाएका थिए । उक्त अवार्ड पाउँदा निक्कै खुशी भएको उनले बताए । ‘चुरा के दिल मेरा... र किरिया चेली... गीत गाउँदा ‘पर्फर्मेन्स अफ द विक’ अवार्ड पाएको उनले बताए ।
‘गुन्द्रुक र ममीले पकाएको खाना धेरै मिस गरें’
प्रितम करिब ६ महिना भारत रहे । यस अवधिमा घरतिरको धेरै याद आउने गरेको उनले बताए । स्कुल पढ्ने साथीहरूदेखि ममीको हातले पकाएको मीठो खाना धेरै मिस गरेको उनले बताए । ‘ममीले पकाएर दिएको नेपाली परिकारको खाना मलाई धेरै मन पथ्र्यो, भारतमा ममीले पकाएर दिएको जस्तो मीठो खान पाइएन, त्यसमाथि मलाई गुन्द्रुकको हरेक परिकार मीठो लाग्छ’ उनले भने, ‘ममीले पकाएर दिने चिकेन र गुन्द्रुकको अचार र तरकारी धेरै मिस गर्थें ।’
‘सङ्गीत मेरो नशा हो’
सङ्गीतलाई छाड्न नसक्ने प्रितम बताउँछन् । ‘सङ्गीत मेरो लागि नशा हो’ उनले भने, ‘पढाइलाई निरन्तरता दिँदै समयको व्यवस्थापन गरेर मेरो सङ्गीत क्षेत्रलाई पनि अगाडि बढाउनेछु ।’ फुर्सदमा नयाँ–नयाँ गीत र टिभीमा चलचित्र हेर्ने गरेको उनले बताए । मनपर्ने गायक नारायण गोपाल र भक्तराज आचार्य रहेको उनले बताए । चाँडै आफ्नो स्वरमा एउटा एल्बम् निकालेर बजारमा ल्याउने लक्ष्य रहेको उनले बताए ।
प्रितम भन्छन्, ‘सबैलाई म धन्यवाद दिन चाहन्छु, यो स्थानसम्म ल्याइपु¥याउन सबैको ठूलो देन छ, सबैले मेरो गायनलाई रुचाइदिनुभएको छ, माया गरिदिनुभएको छ, आगामी दिनमा यसरी सबैको सद्भाव, माया अनि हौसलाको निरन्तर रूपमा अपेक्षा राख्नेछु ।’