धरान/ झापा, दमकका अकुश राईका धेरैवटा परिचय छन् । उनी सक्रिय मोडल हुन्, त्यसैगरी मेकअप आर्टिष्ट, नेल टेक्निसियन, हेयर स्पेसियलिष्ट, ब्युटिथेरापिष्ट, मेहन्दी आर्टिष्ट, कोरियोग्राफरदेखि उद्घोषकजस्ता परिचय छन् उनका ।

यी परिचयहरूभन्दा बढी पछिल्लो समय उनी विभिन्न प्याजेन्टका विजेताका रूपमा पनि चिनिन्छन् । विभिन्न क्षेत्रमा सक्रिय उनी मोडलिङमा लागेको भने दुई वर्षमात्र भयो तर पछिल्लो समय यही क्षेत्रबाट उनी चिनिन थालेका छन् । काठमाडौंको फेसन इराले आयोजना गरेको मिस्टर एण्ड मिस एसईई २०१७ मा सेकेण्ड रनरअप भएपछि अकुश यो क्षेत्रमा अझै सक्रिय भएर लागेका छन् ।

उनले ओएसिस इण्टरटेन्मेण्टको मिस्टर एण्ड मिस नेपाल आइकनिकमा पनि बेस्ट स्माइल टाइटल जिते । उनले पछिल्लो पटक मिस्टर टिन वल्र्ड टुरिजम नेपाल जितेपछि आगामी अक्टोबरमा जापानमा हुने ‘मिस्टर टिन वल्र्ड टुरिजम २०१९’ मा नेपालको प्रतिनिधित्व गर्र्दै सहभागी हुने अवसर पाएका छन् । उनी भन्छन्, ‘देशकै प्रतिनिधित्व गर्दै जापानमा जान पाउँदा अत्यन्तै खुशी छु । त्यहाँ पुगेर नेपाललाई चिनाउने काम गर्नेछु ।’

काठमाडौंमा भएका धेरै र्याम्प शोमा उनले मोडलिङ गरिसकेका छन् भने केही फेसन शोमा कोरियोग्राफी पनि गरेका छन् । पूर्वका भए पनि काठमाडौंमै सक्रिय अकुश अब आफ्नै ठाउँ पूर्वमा पनि केही गर्न चाहन्छन् । ‘अहिलेसम्म जति पनि काम गरेँ सबै काठमाडौंमै गरेँ । अब पूर्वमा पनि केही गर्न चाहन्छु’ उनी भन्छन्, ‘पूर्वमा के गर्ने भनेर अवसर खोजिरहेको छु ।’

सानैदेखि आण्टीको प्रेरणाबाट यो क्षेत्रमा लागेको बताउने अकुशलाई उनकी आमा सरस्वती राई र बुबा कुमार राईले पनि हौसला दिए । उनी भन्छन्, ‘दिदी एलिसा मगर र बहिनी मलिसा मगरले मलाई यहाँसम्म पुर्याउन ठूलो सहयोग गरेका छन् ।’ १८ वर्षीय अकुश सानो उमेरमै विभिन्न क्षेत्रमा सक्रिय छन् ।

उनले दमकको रेडमग पब एण्ड बारमा पनि कार्यक्रम गर्ने योजना बनाएका छन् । ‘फेसन फिल्डमा छिर्न गाह्रो, छिरिसकेपछि निस्किन झन् गाह्रो’ उनी भन्छन्, ‘यो क्षेत्रमा खुट्टा तान्ने पनि धेरै हुन्छन् तर आफूले काम गरेर देखाउन सक्नुपर्छ । म अहिले त्यही काम देखाउन लागिपरेको छु । यही फिल्डबाट मभन्दा पछिको पुस्ताको रोलमोडल बन्न चाहन्छु ।’